रुकुमपूर्वमा सडक अवरुद्ध हुदा काठमाडौँ, पोखरा, दाङ, रोल्पा चल्ने सवारी ठप्प


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित




फाइल तस्विर

रुकुमकोट । वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

लगातारको झरिका कारण सडकमाथिबाट ठूलाठूला ढुङ्गा र पहिरो झर्दा बाटो बन्द भएको सशस्त्र प्रहरी बल आश्रित गुल्म रुकुमपूर्वका प्रहरी निरीक्षक सत्यबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार बिहानैदेखि भूमे गाउँपालिकाको पहलमा जेसिबीले पहिरो पन्छाइरहे पनि अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

सडकमा झरेको ढुङ्गा हटाउन ‘ब्रेकर’बिना असम्भव रहेको उनले बताए । ढुङ्गा फुटाउनका लागि निर्माण व्यवसायीसँग समन्वय गरेर ब्रेकर मगाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए । अहिले पनि जेसिबीले पहिरो पन्छाइरहे पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएको उनले जानकारी दिए ।

बिहानैदेखि सडक अवरुद्ध हुँदा एम्बुलेन्स र गाडी अलपत्र परेका छन् । काठमाडौँ, पोखरा, दाङ, रोल्पाबाट आएका र रुकुमपश्चिम, रुकुमकोटबाट काठमाडौँ, पोखरातर्फ सञ्चालन हुने सवारी साधन पहिरो खसेको स्थान आसपास अलपत्र अवस्थामा रहेका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । उनले आवागमन अवरुद्ध हुँदा यात्रु समस्यामा परेका बताए ।

काठमाडौँबाट आएको एम्बुलेन्समा रहेका बिरामीलाई हिँडाएर पहिरो कटाई अटोमार्फत रुकुमकोट पठाइएको प्रजिअ शर्माले जानकारी दिए । जिल्लाका अन्य ठाउँमा झरेको पहिरो छोटो समयमै हटाएर सडक सञ्चालन गरे पनि काँडाबगरमा ठूलो पहिरो झरेकाले पहिरो पन्छाउन समय लागेको उनको भनाइ थियो । सडक वरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।