पोखरामा दुई हजार एक सय ५० मेट्रिक टन कृषि मल वितरणको लक्ष्य


     एभरेस्ट आवाज    
     श्रावण १४ गते २०८० मा प्रकाशित




पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा महानगर क्षेत्रका किसानलाई नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल दुई हजार एक सय ५० मेट्रिक टन वितरण गर्ने लक्ष्य राखेको छ ।

महानगरपालिकाभित्र मलको बिक्री वितरणका लागि ७० केन्द्र सूचीकृत गरिएको र अघिल्लो वर्षको खपत अवस्था हेरेर यस आवका लागि लक्ष्य निर्धारण गरिएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । गत आर्थिक वर्षमा पोखरामा युरिया, डिएपी र पोटास गरेर एक हजार नौ सय ७७ दशमलव ६५ टन मल खपत भएको थियो ।

त्यसमध्ये युरिया एक हजार दुई सय २१ दशमलव ७५ टन खपत भएको थियो । त्यस्तै डिएपी छ सय ६३ दशमलव ८५ टन, पोटास ३९ दशमलव ९५ टन र कृषि चुन दुई दशमलव एक टन खपत भएको थियो । मलको डिपोदेखि बिक्री केन्द्रसम्मको दूरीका आधारमा २५ किमिसम्म युरिया प्रतिकिलो रु १९ दशमलव ४५ देखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ ।

त्यस्तै डिएपीको रु ४८ दशमलव ४५ देखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको कडरियाले जानकारी दिए । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो थप रु दुईसम्म लिनसक्ने व्यवस्था गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।