देशको अर्थतन्त्र माथि उठाउन सबै दल एक हुनुको विकल्प छैन :कांग्रेस नेता भण्डारी


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८० मा प्रकाशित




पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद शङ्कर भण्डारीले देशको वर्तमान अर्थतन्त्र उकास्न र देशप्रतिको स्वाधीनतालाई बचाउन राजनीतिक दलहरुको साझा प्रयास आवश्यक भएको बताएका छन् ।

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उनले भने, “देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको छ, ठेकेदारलाई रु ८० अर्ब दिन बाँकी छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्छ ।”

देश बनाउने कुरामा पार्टी संविधान संशोधन गरेर भए पनि एक हुनुपर्ने भनाइ उनको छ । राजनीतिक दलका नेता आफ्नो पार्टीको मूल बाटो छाडेर निजी स्वार्थ र भ्रष्टाचारमा लाग्दा जनताको आकर्षण राजनीतिप्रति शून्य प्रायः नै भएकाले अब राजनीतिक दल नयाँ ढङ्गबाट अगाडि बढ्नुको विकल्प नरहेको भनाइ उनको थियो ।

“देश बचाउने कुरामा पार्टीहरु संविधान संशोधन गरेर भए पनि एक हुनैपर्छ”, उनले भने, “राष्ट्रिय स्वाधीनताप्रति दलहरु विचलित हुनुहुदैन् ।” समाजवाद उन्मुख अर्थनीति अगालेका नेपालका नेता आफ्नो स्वार्थपूर्तिमा मात्र लागेपछि नेपाली जनताले कसरी विकास र समृद्धिको आशा गर्ने रु उनको प्रश्न थियो । राजनीतिक सङ्कटका बेला दलहरुकै नेताबाट आपाराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढी राजनीतिक वितृष्णा जागेको उनले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।