पोखराको लिटिल स्टेपमा विद्यार्थी स्वागत तथा अभिमुखिकरण


     एभरेस्ट आवाज    
     श्रावण १८ गते २०८० मा प्रकाशित




साउन १८ पोखरा । पोखराको लिटिल स्टेप मा. वि.मा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

पोखराको सिमलचौरस्थित विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमकाविच नव आगान्तुक विद्यार्थी सहित अभिभावकहरुलाई विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ, प्रिन्सिपल पम्फा गुरुङ, पञ्चकोशी आर्थर डाडाखर्क समाजका अध्यक्ष कमल गुरुङ, विद्यालयका विभागिय प्रमुखहरुले अविर, खादा र फुलद्वारा स्वागत गरेका हुन् ।

कार्यक्रममा पञ्चकोशी आर्थर डाडाखर्क समाजका अध्यक्ष कमल गुरुङले विद्यार्थीहरुलाई अनुशासित भएर जिम्मेवारी पूर्वक पठन पाठनमा ध्यान दिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका उनले विद्यालयका उत्पादनहरु विभिन्न प्रतिष्ठित क्षेत्रमा रहेको पाउँदा खुःशी लागेको बताउँदै लिटल स्टेपलाई गण्डकी प्रदेशकै उत्कृष्ठ विद्यालयको रुपमा आफूले लिएको बताए ।
विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले समाज र देशको आवश्यकतालाई मध्यनजर गर्दै नर्सरीबाट प्रारम्भ गरेको शैक्षिक यात्रा विद्यालय, + २, स्नातक तथा स्नातकोत्तरसम्म पुगेको बताए । उनले शैक्षिक उन्नयनको अविश्रान्त यात्रामा सहयोग प्रदान गर्ने सबैप्रति धन्यवाद दिँदै यस्तै साथको आगामी दिनमापनि अपेक्षा गरे ।

विद्यालयका कोअर्डिनेटर विनोद गिरीले विषय शिक्षकहरुको परिचय गराउँदै विद्यालयको पोसाक, समय तालिका तथा विद्यार्थीहरुले पालना गर्नुपर्ने आचरण बारे प्रकाश पारे ।

विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल पम्फा गुरुङ, अनुशासन इन्चार्ज बिनोद गिरी, शिक्षक ध्रुव केसी, गंगाराम पौडेल लगायतले विद्यालयको बारेमा बोलेका थिए ।

कार्यक्रममा कक्षा १२ का विभिन्न संकायमा अध्यनरत विद्यार्थीहरुले प्रस्तुत गरेको सांस्कृतिक प्रस्तुतीले माहोल थप रोचक भएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १२ क्रिस्टिना पुन र कृष्मा छन्त्यालले गरेका थिए ।

२०३९ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरी देखी १२ सम्म अध्ययन अध्यापन हुँदै आएको छ । विद्यालयमा कक्षा ११ र १२ मा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र विज्ञान संकायमा कक्षाहरु सञ्चालनमा रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।