साउन १९पोखरा । संक्रमणकालीन न्याय ऐन संसोधन गर्न माग गर्दै द्वन्द्व पीडित समुदायले ज्ञापनपत्र बुझाएका छन् ।
संक्रमणकालीन न्याय ऐन द्वन्द्व पीडितप्रति अनुदार भएको तथा गम्भीर मानव अधिकार उलंघनका घटनाका पीडकलाई क्षमादान दिनेसम्मको प्रावधानप्रति आपत्ति जनाउँदै द्वन्द्व पीडित समुदायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीमार्फत कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिलाई १४ बुँदे ज्ञापनपत्र पठाएका हुन् ।
ज्ञापनपत्र बुझाउनुअघि द्वन्द्व पीडित समुदालयले पोखरास्थित सहीदपार्क अगाडि एक घण्टा धर्ना दिएका थिए । त्यसलगत्तै कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाएर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाउन गएका थिए ।
ज्ञापनपत्रमा निशस्त्र व्यक्तिको हत्या तथा यातना जस्ता गम्भीर अपराधलाई सामान्य मानवअधिकार उलंघनको कोटीमा राखेर क्षमादानयोग्य बनाउने प्रस्तावप्रति द्वन्द्वपीडित समुदायको आपत्ति छ । यसलाई सच्याएर हत्या र यातनालाई गम्भीर मानवअधिकार उलंघनको वर्गमा राखेर क्षमादान अयोग्य हुनेगरी व्यवस्था गर्न समुदायको माग छ । उसले मानवताविरुद्धको अपराध, अंगभङ्ग एवम् वलात्कार लगायतका अन्य गम्भीर यौन हिंसालाईसमेत गम्भीर अपराधको सूचिमा राख्न माग गरेको छ । समुदायले ऐनमा यसअघिदेखि राखिएको वेपत्ताको परिभाषालाई हटाउने प्रस्ताव औचित्यपूर्ण नभएकाले त्यसलाई नहटाउन आग्रह गरेको छ ।
समुदायले द्वन्द्वकालीन मुद्दाको न्यायनिरुपण गर्ने विशेष अदालतले दोषीलाई घटी सजाय गर्न बाध्य पार्ने व्यवस्था मान्य नहुने बताएको छ । यो प्रावधानले अदालतको स्वतन्त्रतामा आघात पार्ने भन्दै उसले बरु आधार र कारण हेरेर निर्णय लिनसक्ने अदालती स्वतन्त्रतामा छाडिदिन आग्रह गरेको छ ।
समुदायले यातना तथा यौन हिंसा पीडितलगायत सबै प्रकारका द्वन्द्व पीडितको पहिचान गरी उनिहरुलाई तत्काल राहत तथा उपचारको व्यवस्था गर्न माग गरेको छ ।
समुदायले आयोग विश्वसनीय, सक्षम र स्वतन्त्र रुपमा गठन हुनुपर्ने बताएको छ । आयोगको सदस्य छनौटमा सरकार हाबी भए त्यसले गर्ने निर्णयमापनि सरकार हाबी हुने खतरा रहने भएको भन्दै समुदायले पूर्वप्रधानन्यायधीशलाई अध्यक्ष र पूर्वन्यायाधीश मध्यवाट एक जना सदस्य, राष्ट्रिय मानवअधिकार आयोगबाट एक जना सदस्य तथा अन्य दुई जना सदस्य सरकारले तोक्ने व्यवस्था गर्न माग गरेको छ । त्यस्तो आयोगलाई अनुसन्धान इकाई बनाउने अधिकार दिनुपर्ने, विविध कारणले एक वर्ष भित्र मुद्दा चलाउन नभ्याएमा थप समय उपलब्ध गराउने, पीडितलाई केन्द्रमा राखेर कानुन संशोधन गर्न माग गरेको छ ।
समुदायले यसअघि गरिएको उजुरी संकलन र छानबिन प्रक्रिया संक्रमणकालीन न्यायको अवधारणा अनुरूप नभएको भन्दै उजुरी लिएपछि त्यसको निष्पक्ष अनुसन्धान गर्ने पिडितको अधिकारको सुनिश्चित गर्न माग गरेको छ । पीडित तथा साक्षीको गोपनियता तथा संरक्षण, प्रमाणको सुरक्षाका लागि विश्वसनीय उपायहरूको अवलम्बन गर्न तथा आयोगको प्रतिवेदन तथा सिफारिस सरकारले प्राथमिकता र इमान्दारिताका साथ कार्यान्वयन गर्ने सुनिश्चितता गर्न समुदायले माग गरेको छ ।
समुदायले विस्तृत शान्ति सम्झौता पश्चात माइन, बारुदी सुरुङ, बम विष्फोटमा परि पीडित भएकाहरुलाईपनि ऐनमा समेट्न तथा उनीहरुको उपचार, राहत, क्षतिपूर्ति तथा परिपूरणको व्यवस्था गर्न माग गरेको छ ।
ज्ञापनपत्र बुझाउँदै द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका केन्द्रीय अध्यक्ष सुरेन्द्र खत्रीले पीडितलाई अन्याय हुनेगरी क्षमादान दिने प्रावधान कुनैपनि हालतमा मान्य नहुने बताए । ‘हामी पीडितले न्याय पाउनुपर्छ । पीडितलाई थप पीडा दिनेगरी क्षमादान दिनेकुरा कदापी स्वीकार्य हुँदैन’–उनले भने ।
जनआन्दोलन सहिद परिवार तथा घाईते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतमले संक्रमणकालीन न्याय दिलाउने नाममा पीडकलाई क्षमा दिईदा थप द्वन्द्व चर्कनेतर्फ राज्य गम्भीर बन्नुपर्ने बताए ।
समुदायको ज्ञापन पत्र बुझाउने कार्यक्रममा ईन्सेक, एम्नेष्टी ईन्टरनेसनल समूह ८२ लगायतका प्रतिनिधिहरुकोपनि सहभागिता थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







