पोखरा, साउन २१
कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ । तर दुर्घटनाबाट मृत्यू हुनेको संख्या भने घटेको छ । कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिक वर्ष २०७९÷८० मा १९ वटा दुर्घटना बढेको हो । आर्थिक वर्ष २०७८÷७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९÷८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीमा सामान्य दुर्घटना भने २ हजार १ सय ५० वटा भएपनि ११७ वटा दुर्घटनामा मात्रै क्षेती पुग्ने गरि दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको भनाई छ । जसमा ९४ वटा मोटरसाईकल, जिप तथा कार २७, बस १३, ट्रयाक्टर ६, टिप्परबाट ४, रिक्सा तथा ठेला गाडाबाट ४, डोजर, लोडर तथा स्काभेटर ३, माईक्रो बस तथा ट्रक र टयांकरबाट २÷२ र अन्यबाट १ सवारी दुर्घटना भएको जनाइएको छ ।
दुर्घटना बढेपनि यस अवधीमा मृतक संख्या अघिल्लो वर्षको तुलनामा ११ जनाले घटेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ९८ वटा दुर्घटनामा ५५ जनाको मृत्यू भएकोमा आर्थिक वर्ष २०७९÷८० मा दुर्घटना बढेर ११७ वटा पुग्दा मृतक संख्या भने घटेर ४४ मा झरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिए । मृत्यू हुनेमा ३३ जना पुरुष, ८ जना महिला, २ बालक र १ बालिका रहेको उनले बताए ।
यहि अवधीमा दुर्घटनामा घाईते भएको संख्या भने बढेको छ । प्रमुख चन्दका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ७९ जना घाईते भएकोमा आर्थिक वर्ष २०७९÷८० मा १२३ जना घाईते भएका छन् । यो अवधीमा सवारी साधनमा सवार नरहेका सर्वसाधारण घाईते भएको संख्या दोब्बर भन्दा बढी बृद्धि भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा १३ जना पैदल यात्रु घाईते भएकोमा आर्थिक वर्ष २०७९÷८० मा बढेर ३२ जना घाईते भएको चन्दले बताए ।
उनका अनुसार यस अवधीमा भएको दुर्घटनामा १५६ वटा सवारी संलग्न भएका थिए । यो आर्थिक वर्ष २०७८÷७९ को भन्दा १३ वटा सवारी बढी हो ।
त्यस्तै, कास्कीमा ४०२ वटा हिट एण्ड रन अर्थात दुर्घटना भएपछि भागेका छन् । त्यसरी हिट एण्ड रनमा संलग्नमध्ये २०९ वटालाई भने खोजविन गरेर सम्पर्कमा ल्याई कारवाही गरिएको ट्राफिक बरिष्ठ प्रहरी नायव निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिए । हिट एण्ड रनका अन्य दुर्घटनाको बारेमा भने निवेदन नआएकाले खोजी नगरिएको उनले बताए ।
कास्कीमा आर्थिक वर्ष २०७९÷८० मा ७६ हजार ४ सय ६० वटा सवारीलाई कारवाही गरेर ६ करोड ५० लाख २४ हजार राजश्व संकलन गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा २ करोड ६४ लाख ३२ हजार अर्थात ५९.३५ प्रतिशतले बढी हो ।
दुर्घटना घटाउन आफूहरुले चेकिङलाई नियमित गरेको, सचेतना कार्यक्रम निरन्तर गरेको, सिसी क्यामरा जडान गर्नेलगायतका कार्यहरु नियमित बनाएको पाठकले जानकारी दिए । ‘हामी दुर्घटना न्यूनिकरणका लागि अहोरात्र खटिरहेका छौं, चालक र यात्रुहरुपनि सचेत हुन जरुरी छ’–उनले भने । उनले दुर्घटना न्यूनिकरणका लागि थप कडाई गर्दै ट्राफिक भायोलेन्स रेकर्ड सफ्टवेयर बनाएर सञ्चालनमा ल्याएको र यसले गल्ती गर्नेलाई पटके मानेर जरिवाना बढाउँदै लैजाने गरेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







