सांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु : सभामुख घिमिरे


     एभरेस्ट आवाज    
     श्रावण २६ गते २०८० मा प्रकाशित




साउन २६ धुलिखेल । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले संसद् अवरोध कानून निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसदको सहयोगका लागि आह्वान गरे ।

“केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन । परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौँ”, सभामुख घिमिरेले भने, “सांसदहरूले संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।”

अघिल्लो संसद्मा पनि संसद् विघटन, पुनःस्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा पर्याप्त छलफल हुन नसकेको स्मरण गराउँदै संसद् अवरोधको परिस्थितिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा संसद्मा पर्याप्त छलफल हुन नसकेको बताए ।

“मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा जसरी संसद्मा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन”, उनले भने “मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसद्मा पनि यथाशक्य यस विषयमा छलफल हुनुपर्छ ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।