पहिराले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०८० मा प्रकाशित




सांकेतिक तस्विर

गोरखा । केही दिनदेखि लगातार परेको अबिरल वर्षाका कारण माथिबाट झरेको पहिराले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए ।

पहिरासँगै आएको ढुङ्गासहितको लेदो घरमा पसेर क्षति पुर्याएको उनको भनाइ छ । त्यस्तै पहिरो बगेर झोङगाउँमा स्थानीयले लगाएको फापर तथा तोरी बारीसमेत नष्ट बनाएको उनको भनाइ छ ।

“पहिराले नजिकै रहेको चरन क्षेत्रमा समेत क्षति पुर्याएको छ”, अध्यक्ष लामाले भने, “घर तथा खेतबालीमा समेत क्षति पुर्याएकाले पीडित समस्यामा परेका छन् ।”

पहिरा रोकथामका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जनाइएको छ । थप क्षति हुन नदिन र जोखिममा परेका घर जोगाउनका लागि ग्यावियन तारजाली हाल्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।

प्रहरी र जनप्रतिनिधिको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरी जोखिमको अवस्थाका बारेमा समेत जानकारी लिइसकेको उनको भनाइ छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।