फाइल फोटो
साउन २९ काठमाण्डौं । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा संलग्न जोसुकै भए पनि अनुसन्धान र छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने जनाएको छ ।
कांग्रेसले हालै अवैध ढङ्गले पैठारी भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्की बरामद गरिएको एक क्विन्टल सुन प्रकरण सम्बन्धमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले यस्ता घटना विगतमा पनि भएको र पटकपटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको उल्लेख गर्दै त्यस्ता गैरकानूनी कार्य निस्तेज एवं पूर्णरूपले नियन्त्रण हुनु पर्ने माग गरेको छ ।
बैठकले यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानविनको दायराभित्र ल्याई कानूनी कारवाही गर्नुपर्ने निर्णय गर्दै यस्ता कार्यका लागि अनुसन्धान, छानविन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्यूरोलगायत सरकारी निकायहरूले छानविन अनुसन्धान गरिरहेको जनाएको छ ।
बैठकले नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानविन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानूनी दायरामा ल्याउन अनुरोध गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि सदन अवरुद्ध भएका कारण एकातर्फ जनताका सरोकारका विषय सदनमा उठ्न नसकेको र अर्कोतर्फ सदनमा विचाराधीन महत्त्वपूर्ण विधेयक कानून बन्न नसकेको उल्लेख गरेको छ ।
बैठकले सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्षीलगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् सुचारु गर्न पहल गर्ने निर्णय गरेको उनले बताए ।
कांग्रेसले संसद्मा विचाराधीन सबै विधेयकलाई चाँडोभन्दा चाँडो पारित गर्न सरकार र संसद्मा क्रियाशील सबै दललाई अपिल गरेको छ । यसैगरी बैठकले चालु आर्थिक वर्षको बजेटमा देखा परेको कमी कमजोरीलाई आगामी दिनमा सुधार गर्ने आवश्यक व्यवस्था मिलाउन, पूँजीगत खर्च कम हुने अवस्थालाई उचित ढङ्गले सम्बोधन गर्न र बजेटलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







