पोखरा । यतिबेला देशभरका शिक्षकहरु आन्दोलित छन् । संघीय शिक्षा ऐन २०८० मा शिक्षकका अधिकांश मागहरु सम्बोधन नगरिएको भन्दै शिक्षकहरु आन्दोदित भएका हुन् । आन्दोलनको पहिलो चरण अन्तर्गत आफ्ना जायज मागहरु सम्बोधन गरि शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासङ्घ, कास्कीले मङ्गलबार शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको छ ।

शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेलले राज्यले समाजका बुद्धिजीवी वर्ग शिक्षकका जायज माग पूरा हुनुपर्नेमा जोड दिँदै चरणबद्ध आन्दोलनका माध्यमबाट समग्र शिक्षामैत्री शिक्षा ऐन जारी गर्न दबाब पुग्ने विश्वास व्यक्त गर्दै शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यलाई ज्ञापनपत्र बुझाएका थिए ।
आचार्यले शिक्षकहरूका जायज माग पूरा हुनुपर्ने आफ्नो पनि धारणा रहेको भन्दै ज्ञापनपत्र सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता जनाए ।

महासङ्घका केन्द्रीय सदस्यद्वय लोचना अधिकारी र सम्झना कट्टेलले आन्दोलनको औचित्यमाथि प्रकाश पार्दै शिक्षक र कर्मचारीको मात्र माग पूरा गर्नका लागि मात्र नभई समग्र शैक्षिक क्षेत्रकै समुन्नतिका लागि गरिएको आन्दोलन भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सचिव रामप्रसाद पोख्रेलले अहिले सार्वजनिक भएको शिक्षा ऐन कुनै पनि शिक्षाविद्, सरोकारवालाहरुसँग छलफल नै नगरी ल्याइएको हुनाले सामुदायिक विद्यालयका शिक्षक र संस्थागत विद्यालयहरु कोही पनि खुसी नभएको बताए । पोख्रेलले यस्तो षडयन्त्रपूर्ण तवरले ल्याइएको ऐन सच्चिनु पर्ने र शिक्षकसँग विगतमा गरेका ३० बुँदे र ५१ बुँदे माग पूरा नगरेमा शिक्षकहरु चुप लागेर नबस्ने बताए । यस्तै उनले शिक्षकहरु स्वयम् नै महासङ्घले उठाएका मागप्रति सचेत हुन आग्रह गर्दै अर्को चरणको आन्दोलनमा सहभागी हुन सबैमा आग्रह गरे ।

नेपाल शिक्षक सङ्घका गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछानेले आन्दोलन अग्रज शिक्षकहरूका लागि भन्दा बढी नवप्रवेशी शिक्षक र कर्मचारीका लागि भएकाले ऐक्यबद्ध भएर अघि बढ्न सबैसँग आग्रह गरे ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीका निवर्तमान अध्यक्ष तारानाथ पौडेलले आन्दोलनबाटै आएको सरकारले शिक्षकको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले शिक्षा ऐन राज्यले ल्याउनुपर्नेमा शिक्षकले ऐन ल्याउ भनेर झक्झक्याउनु परेको र वर्षौँ लगाएर बल्लबल्ल ल्याएको ऐन विद्यार्थी ,शिक्षक, कर्मचारी कसैको हितमा नभएको एवम् शिक्षकको हित नचाहने व्यक्तिको हातद्वारा ऐनको ड्राफ्ट बनेको हुनाले यो कदापि स्वीकार्य नभएको बताए ।

नेपाल शिक्षक सङ्घ, कास्कीका अध्यक्ष राजु क्षेत्रीेले शिक्षकको हकहितका लागि गरिएको आन्दोलनमा कतिपय विद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुद्वारा नै सहयोग नपाइएको गुनासो गर्दै सामूहिक हितका लागि गरिएको कार्यमा साथ दिन आग्रह गरे ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कास्कीका अध्यक्ष महेन्द्रमणि पौडेलले आन्दोलनमा जानका लागि शिक्षकहरूलाई प्रेरित गरिदिनका लागि प्रधानाध्यापकहरूसँग आग्रह गरे ।
त्यस्तै नेपाल शिक्षक परिषद कास्कीका अध्यक्ष रुद्रबहादुर कार्कीले शिक्षकले राज्यसँग गरेका विभिन्न माग र सम्झौताहरु पूरा नभएको हुनाले अबको आन्दोलन विगतको भन्दा सशक्त हुनुपर्ने बताए ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष नारायणप्रसाद अधिकारीले सामुदायिक शिक्षाको विकासका लागि आन्दोलनले उठाएका मागहरू सम्बोधन गर्न सरकारसँग माग गरे ।

महासङ्घ, कास्कीका अध्यक्ष बोधराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहअध्यक्ष डिल्लीराम बरालले स्वागत तथा सञ्चालन सचिव मनिराम कँडेलले गरेका थिए ।
शिक्षामा न्युनतम २० प्रतिशत बजेट व्यवस्था हुनुपर्ने, शिक्षकहरूको आवधिक बढुवा हुनुपर्ने, विद्यालय कर्मचारी तथा इसिडी सहयोगी कार्यकर्ताको दरबन्दी कायम हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायत ५१ बुँदे माग पूरा गर्नका लागि शिक्षा ऐन जारी हुनुपर्ने भन्दै महासङ्घ चरणबद्ध आन्दोलनमा उत्रेको छ । २०२८ मा पञ्चायतकालमै जारी भएको ऐनकै आधारमा शिक्षा चलेको भन्दै कुनै पनि हालतमा नयाँ शिक्षा ऐन आउनुपर्ने महासङ्घको माग छ । मन्त्रीपरिषद्बाट पारित भएको भनिएको ऐन सङ्घीय संसद्मा दर्ता हुने तयारीमा रहेको बताइएको छ ।
महासङ्घले यसअघि पहिलो कार्यक्रमस्वरूप आइतबार स्थानीय तहमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको थियो भने आगामी बिहिबार प्रदेशस्तरीय धर्ना कार्यक्रम सामाजिक विकास मन्त्रालयमा आयोजना गरेको छ । भदौ १ गतेदेखि सङ्घीय स्तरमा आन्दोलनका कार्यक्रम गरिने बताइएको छ ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







