‘हेलिकोप्टर चढेर जाने खर्चले बाढी पीडितलाई आवश्यक सामान किनेर पठाएँ’


     एभरेस्ट आवाज    
     श्रावण ३२ गते २०८० मा प्रकाशित




फाइल तस्विर

पोखरा, साउन ३२

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन् । गण्डकी प्रदेश सभामा ‘बाढीपहिरोले पु¥याएको क्षेती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव’माथिको छलफलमा प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको विहीबार जवाफ दिने क्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशका जनतलाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका हुन् । प्रदेशबासीको हर समस्याको समाधानका लागि सरकार लागिरहेको भन्दै उनले भने,‘सरकार छैन, म एक्लो छु । वा जनतालाई सरकार विहीन छु भन्ने अवस्था आउन दिने छैन । त्यसमा म सचेत छु र त्यसमा म दत्तचित्त भएर लाग्छु ।’

विपक्षी दलका प्रदेश सभा सदस्यहरुले मुस्ताङको कागबेनीमा पहिरोले वितण्डा मच्चाउँदापनि मुख्यमन्त्री पाण्डे स्थलगत अवलोकनका लागि नगएको भन्दै आलोचना गरेका थिए । त्यसको जवाफमा पाण्डेले आफू नगएपनि त्यहाँको नियमित रिपोर्टिङ लिने र आवश्यक निर्देशन दिनेगरेको बताए । यहाँ विपक्षी दलका माननीय ज्यूहरुले बाढीले तहसनहस बनाउँदापनि मुख्यमन्त्री पाण्डे अवलोकनका लागि जानु भएन भनेर भन्नुभो,उनले भने,‘बाढीले वितण्डा मच्चाएको ठाउँमा आफू जाने कि ? आफू जाने खर्चले सामान पठाउने ? मैले आफू जाने खर्चले सामान पठाउने निर्णय लिएँ । म हेलिकोप्टर चढेर जाँदा १ लाख ४० हजार लाग्दो रहेछ । तर त्यो रकम बराबरको सामान किनेर पठाएँ ।’ उनले आफू हेलिकोप्टर चढेर गएको भएपनि जनता बाढीको चपेटामा परेका बेला मुख्यमन्त्री हेलिकोप्टर चढेर फर्किए भन्ने आलोचना हुन्थ्यो । अहिले त्यो पैसाले सामान पठाउँदापनि आलोचना भइरहेको छ ।’

त्यस्तै, विपक्षी सांसदहरुले बाढीपहिरोले तहसनहस् मच्चाउँदा गण्डकी सरकार संवेदनशील नभएको भन्दै टिप्पणी गरे । त्यसको जवाफमा भने मुख्यमन्त्री पाण्डे केहि आक्रोसित बने । उनले भने,‘हामी संवेदनशील छैनौं भन्नु भनेको दोष थोपर्ने मानसिकताबाट ग्रसित हुनुहुन्छ वा हामीले गरिरहेका कुराबाट अनभिज्ञ हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’ उनले उद्दारको काम तदारुकताको साथ भइरहेको तथा बन्द बाटो खुलाउने, पुल पुर्ननिर्माण गर्नेलगायतका काम भइरहेको उल्लेख गरे । उनले कागबेनीमा रहेको पुल बाढीले बगाउँदा अपर मुस्ताङ जाने बाटो रोकिएपनि त्यहाँ खोला फराकिलो बनाएर अहिले गाडी चल्नसक्ने बनाइएको जानकारी दिए । तर कागबेनी भन्दा केहि माथि चराङमा रहेको पुललाई नदीले क्षेती पु¥याएकाले त्यहाँ भन्दा माथि जानसक्ने अवस्था नरहेको उनको भनाई छ । त्यस्तै, म्याग्दी–जोमसोमको बाटो बन्द हुने र खुल्ने क्रम चलिरहेको उनले बताए । अहिले रघु गाउँपालिका–३ बैसरीमा पहिलो गएकाले बाटो अबरुद्ध रहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री पाण्डेले प्राकृतिक विपत्ती कम गर्न पवित्र स्थल कागबेनीमा पूजा गर्नुपर्नेसमेत बताए । गण्डकी ऋषिमूनिहरुको तपोभूमि भएकाले बाढी पहिरो जाँदापनि मानवीय क्षेती नभएको हुनसक्ने भन्दै उनले भने,‘सोह्र श्राद्धमा पितृलाई तर्पण दिईन्छ । कागबेनी पवित्र भूमि हो । गयामा श्राद्ध गरेपछि घरमा श्राद्ध नगरेपनि हुन्छ भन्छ । तर गयामा श्राद्ध गर्नुभन्दा पहिले कागबेनीमा श्राद्ध गर्नुपर्छ भन्छ । यो पटकको श्राद्धचाहिं कागबेनीमा गएर गर्नुपर्छ कि भनेर मलाई चस्स लागेको छ । कम्युनिष्ट साथीहरुलाई पूजा गर्नूस् भनेर त म भन्न सक्दिन तर मचाहिं अध्यात्मवादी भएकाले त्यहाँ पूजा गर्नुपर्छ भन्ने लाग्छ ।’

मुख्यमन्त्री पाण्डेले योजनाबद्ध विकास नहुँदा विनास आइरहेकोसमेत बताए । घरमा बाटो लैजाने कि ? बाटोमा घर लैजाने ?उनले भने,‘अहिलेसम्म हामीले घरमा बाटो लैजाने अभ्यास ग¥यौं । गाउँ, बस्तीहरु भने खाली हुन थाले । हिजो ५० घर हुने ठाउँमा अहिले ५ घर भयो, हिजो १०० घर भएको ठाउँमा अहिले १० घर मात्र छ । तर आजपनि ट्रेण्डचाहिं हिजोकैजस्तो घरमा बाटो लैजाने ट्रेण्ड जारी छ । यसले गर्दा हाम्रो लागतपनि बढ्यो अनि भुक्षयपनि बढ्यो ।’ उनले अब घरमा बाटो लैजाने कि ? बाटोमा घर लैजाने भन्नेबारेमा बहस चलाउन जरुरी रहेको औंल्याए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।