हुम्लाबाट आशिष रावत २२ दिन देखि वेपत्ता,मुग्लिनबाट पोखरा आएको आशंका


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०८० मा प्रकाशित




पोखरा । हुम्लाको सिमकोट वडा नं. ५ का आशिष रावत परिवारको सम्पर्कमा नआएको आज २२ दिन वितिसक्दा पनि अझै फेला परेका छैनन् । गत साउनको १२ देखि नेपालगञ्जबाट उनी वेपत्ता भएका हुन् ।

भर्खरै मात्रै एसईई दिएका कालो वर्णका १७ वर्षिय रावत ५ फिट ६ ईन्च अग्लो, खैरो व्याग बोकेको, रातो रङको फुटवल जर्सि लगाएको र साईकलको पछाडी फुटवल बोकेको अवस्थामा उनी बेपत्ता भएको उनका काका सुशान्त रावतले जानकारी दिए । उनका काका सुशान्तका अनुसार हुम्लामा एसईई दिएर नेपालगञ्ज आफन्तकोमा बसेका उनी अण्डर–१९ फुटवल छनौट तयारीका लागि घरमा पैसा मागेको तर समयमै पैसा नपाएपछि उनी घर छोडेर हिँडेका थिए ।

“यस वर्ष एसईई दिएर बसेको थियो, नेपालगञ्ज आफन्तकोमा थियो, सानैबाट फुटवल गेममा असाध्यै रुचि राख्ने भएकोले अण्डर–१९ फुटवल छनौट तयारीका लागि घरमा पैसा मागेको थियो, समयमै पैसा पठाउन सकिएन”,उनले भने,“त्यहि रिसमा घर छोडेर हिँडेको होे, यत्रो दिन भयो परिवारको सम्पर्कमा आएको छैन ।” केहि समय अगाडी प्रकाशित भएको एसईईको रिजल्ट अनुसार आशिषलाई एउटा विषयमा ‘व्याक’ लागेको थियो ।

आशिषलाई हुम्ला नै फर्काएर ग्रेडवृद्धि परिक्षाको तयारी गराउने मनसायले पैसा ढिला पठाईदिएको पारिवारिक श्रोतले जनाएको छ । “हामीले उसलाई ग्रेडवृद्धि परिक्षाका लागि तयारी गर्न घर बोलाएका थियौ तर उसलाई पढाई भन्दा फुटवलमै रुचि थियो,” पारिवारिक श्रोतले भन्यो, “फकाएर घर बोलाउदै थियौ, घर आउछकी भनेर पैसा ढिला पठाएको तर उ नै वेपत्ता भईदियो ।”

वेपत्ता आशिष पोखरा आएको आशंका
यसरी वेपत्ता भएका आशिष पोखरा आएको आशंका गरिएको छ । रातो फुटवल जर्सि लगाएको, साईकलको पछाडी फुटवल बोकेका उक्त हुलियाका एकजना १७ वर्षिय केटो मुग्लिनबाट पोखरा तर्फ लागेको देखेको त्यहाँका प्रत्यक्षदर्शीहरुले बताएको दाजु सुशान्तले बताए । बेपत्ता भएको खवर थाहा पाउनासाथ परिवारले उनको खोजीमा लागेको थियो ।

प्रहरीमा पनि खवर गरिएको तर हालसम्म फेला नपरेको उनले गुनासो गरे । मुग्लिनमा प्रत्यक्षदर्शीका भनाई अनुसार उनी काठमाडौ जाने बाटो भुलेर पोखरा गएको हुनसक्ने उनले बताए । पोखरामा कतै सोहि हुलियाको बालक भेटिएमा परिवारलाई खवर गरिदिन पारिवारिक श्रोतले आग्रह गरेका छन् ।

परिवारका एक्ला छोरा समेत रहेका उनलाई देख्ने भेट्नेले नजिकैको प्रहरीचौकी वा ९८४८३२८८०५ मा फोन गरेर सम्पर्क गरिदिन परिवारले अपिल गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।