विपक्षीले हल्लालाई यथार्थमा परिणत गर्ने प्रयास गरिरहेका छन् : माओवादी गण्डकी ईञ्चार्ज पौडेल

- पार्टी बन्दैन भन्ने मानसिकता त्याग्नपनि आग्रह


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८० मा प्रकाशित




भदौ ९ पोखरा । नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले पार्टीलाई बलियो बनाउनका लागि आक्रमक ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको बैठकलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीलाई प्रतिष्पर्धी दलहरुबीच अब्बल पार्टी बनाउनेगरी खटिन निर्देशन दिएका हुन् । पार्टी पुर्नगठन गर्न सकिन्छ तर त्यसका लागि हरेक कार्यकर्ताले संकल्प गरेर लाग्नुपर्छ,उनले भने,‘यस अभियानका क्रममा हरेक कार्यकर्ताले तीन जना पार्टी सदस्य अनिवार्य बनाउनूस् । त्यसो भयो भने पार्टी अवश्य बन्छ ।’

पौडेलले पार्टी बन्दैन भन्ने मानसिकता त्याग्नपनि आग्रह गरे । हाम्रा नेता कार्यकर्ताहरु पार्टी बन्दैन भनेर निराश हुन्छन्,उनले भने,‘पहिल्यै पार्टी बन्दैन भनेर निराश भएपछि कसरी पार्टी बन्छ ? यसरी निराश होईन, आशा र विश्वासका साथ पार्टी बनाउन लाग्नुभयो भने पार्टी अहिलेभन्दा केहि न केहि सुदृढ हुन्छ हुन्छ ।’ उनले घरघरमा माओवादी, जनजनमा माओवादी हुने वातावरण बनाउनका लागि लाग्न आग्रह गरे । त्यसका लागि जनतालाई अहिलेको सरकारले गरेका सुशासन अभियान, समृद्धि र विकासका लागि गरिरहेका कामहरुबारे जानकारी गराउन उनले निर्देशन दिए ।

पौडेलले विपक्षीले माओवादीलाई हत्यारा र आतंककारी भनिरहँदा चुप लागेर नबस्न निर्देशन दिए । उनीहरु हामीलाई सत्र हजार, सत्र हजार भनेर हल्लालाई यथार्थमा परिणत गर्ने प्रयास गरिरहेका छन्,उनले भने,‘तर हाम्रा साथीहरु त्यसको प्रतिवाद गर्दैनन् र साँच्चै हत्यारा नै हो कि भनेर सहेर बस्नुहुन्छ । तर अब त्यसरी नसहनूस्, बरु त्यसको प्रतिवाद गर्नूस् । र भन्नूस हामी हत्यारा वा आतंककारी होईन, हामी त परिवर्तन गरेर आएको शक्ति हौं । देश र शासन व्यवस्थाको परिवर्तनकारी हौं ।’

पौडेलले समाजवादी मोर्चा संसदको अंक गणितका लागि मात्र नभएको बताए । विपक्षीले मोर्चालाई संसदको अंक गणितसँग जोडेर कुप्रचार गरेको भन्दै उनले भने,‘तर तपाईंहरु भ्रमित नहुनूस्, समाजवादी मोर्चा संसदको अंक गणित जोगाउन होईन । बिचार मिल्नेसँग मोर्चा बनाउने, मिल्यो भने पार्टी एकीकरण गर्ने भन्दै नीति नै हो । त्यहि नीति अनुसार नै अहिले मोर्चा बनेको हो । भोलि मोर्चामा आबद्ध दलहरुबीच एकीककरण भएर पार्टी बन्नपनि सक्छ ।’ उनले कांग्रेससँगको गठबन्धन भने बाध्यात्मक परिस्थितिका कारण निर्माण भएको र यो संयोगमात्र भएको उल्लेख गरे ।

माओवादी पोखरा महानगर कमिटीले तीन महिने अभियानका लागि कार्ययोजना बनाएर जनतामाझ जाने कमिटीका अध्यक्ष हरिनारायण गिरीले बताए । त्यसका लागि कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।