असोज ५ पोखरा । पोखराका सार्वजनिक यातायात आफूहरुको पहुँचमा नरहेको शारिरिक रुपमा अपाङ्गता भएकाहरुले गुनासो गरेका छन् । नेपालको संविधान र कानूनले सार्वजनिक यातायात सबैको पहुँचयुक्त हुनुपर्ने भनेपनि त्यसअनुसार हुन नसकेको उनीहरुको भनाई छ ।
अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा शुक्रबार पोखरामा आयोजित ‘सबैका लागि पहुँचयुक्त यातायात’ सम्बन्धी कार्यक्रममा बोल्दै उनीहरुले शारिरिक रुपमा अपाङ्गता भएका, दृष्टिविहीन, बहिरालगायतले सार्वजनिक यातायात चढेर यात्रा गर्ने वातावरण नभएको गुनासो गरे । उनीहरुले संविधान र कानून अनुसार सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज सुवेदीले अपाङ्गता भएकाहरुले सार्वजनिक यातायात प्रयोग गर्दा हरेक सेकेण्ड चुनौतिको सामना गर्न बाध्य हुने बताए । उनले भने,‘देशमा संविधान छ, कानून छ, नियमावली छ तर हामी अपाङ्गता भएकाहरु त्यहि संविधान, कानून र नियमावली कार्यान्वयन नहुँदा सडकमा सुरक्षित हिंड्न र सार्वजनिक यातायातमा सुरक्षित रुपमा यात्रा गर्न नसक्ने अवस्था छ ।’ उनले यातायात अहिलेपनि व्यक्तिगत स्वतन्त्रता हनन् गर्ने खालका भएको बताए ।
उनले अपाङ्गता भएकाहरुलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट हुने प्रावधान भएपनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन नभएको बताए । ‘हामी जहाजमा चढ्ने हो भने तपाईंले यति छुट पाउनुहुन्छ भनेर पहिल्यै छुट दिन्छन् तर गाडीमा चढ्दा त्यसरी सूचना दिएर छुट दिनुको सट्टा माग्दापनि छुट नदिनेगरेको यथार्थ औंल्याए ।
जिफण्ड गण्डकीका अध्यक्ष रुद्र खत्रीले अपाङ्गमैत्री पूर्वाधार निर्माण नहुँदा अपाङ्गता भएकाहरु सेवाबाट बञ्चित हुनुपरेको बताए । सरकारले नै पूर्वाधार निर्माण गरेको छैन, हामीले कसरी सेवा दिन सकिन्छ?’, उनले थपे, ‘यातायात क्षेत्रमा नीति नियम राज्यले बनाओस् हामी कार्यान्वयन गर्न तयार छौं ।’
आईएनएफ नेपाल हरियोखर्क अस्पतालका प्रमुख ताराहाङ तावाले अवरोधमुक्त सडकपेटीसँगै सार्वजनिक यातायातलाई ह्वीलचेयर चढाउन मिल्ने, दृष्टिविहीनलेसमेत प्रयोग गर्नसक्ने बनाउनुपर्ने बताए ।
अपाङ्गता स्वावलम्बन विकास संघ(डिडा) नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले अपाङ्गतामैत्री पूर्वाधार बनाउनु राज्यको दायित्व भएको बताए । साथै सार्वजनिक यातायात अपाङ्गमैत्री भएमात्रै सञ्चालन अनुमति दिने व्यवस्था हुनुपर्ने उनले बताए ।
ईन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले संविधानले ज्ञारेन्टी गरेको अधिकार कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने बताए ।
जनआन्दोलन सहिद, वेपत्ता तथा घाईते परिवार समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतमले सार्वजनिक यातायात अपाङ्गता भएकाहरुका लागि पहुँचयुक्त बनाउन सकेमात्र परिवर्तनको खास महत्व हुने बताए ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशम जुग्जालीले अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने प्रतिबद्धता जनाए । हिजो अपाङ्गमात्र होईन सपाङ्गकोपनि अधिकार खोसिएको थियो,उनले भने,‘तर हामीले लडेर नया व्यवस्था ल्याएका छौं । यो व्यवस्थामा सबैको पहुँचयुक्त पूर्वाधार, यातायात बनाउन हामी प्रतिद्ध छौं ।’
प्रदेश ट्राफिक कार्यालय गण्डकीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिमिल्सिनाले पूर्वाधार निर्माण भएमा सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउने व्यवहारिक पाटो आफूहरुले कार्यान्वयन गर्न दवाब दिने बताए ।
कार्यक्रममा डिडा नेपालका महासचिव गिरधारी सुवेदी, पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष प्रकाश तिवारीलगायतलेपनि सार्वजनिक यातायात सबैको पहुँचयुक्त बनाउनका लागि सबै जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







