प्रधानमन्त्रीको निर्देशनमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता,राति १२ बजेदेखि पहिलेकै मुल्य लागु हुने


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०८० मा प्रकाशित




काठमाडौँ । प्रधानमन्त्रीको पुष्पकमल दालहालको निर्देशनमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि आजै राति १२ बजेदेखि फिर्ता हुने जनाएको छ ।

निगमले आज सूचना प्रकाशन गर्दै सरकारले दिएको निर्देशनअनुसार मूल्यवृद्धि गर्ने निर्णय आजैदेखि लागू हुने गरी फिर्ता गरिएको उल्लेख गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन दिएको थियो । मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय फिर्ता लिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा प्रतिलिटर रु छ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु दुई सय १५ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु आठ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु दुई हजार एक सय १० पुगेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।