दृष्टिविहिन शिक्षक आमरण अनसनमा: पाइनन् १ वर्षसम्म न्याय


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०८० मा प्रकाशित




पोखरा । संसदमा शिक्षा विधेयक पेश भएपछि असन्तुष्ट जनाउदै देशभरका शिक्षकहरुले राजधानी केन्द्रित आन्दोलन गरे । उनीहरुले शिक्षा क्षेत्रका विभिन्न नीतिगत सुधारको माग गर्दै आन्दोलन गरे । तर फरक क्षमताका शिक्षकहरुको समस्यामा भने उनीहरुले वेवास्ता गरे ।

यता पोखरामा शिक्षिका शोभा पौडेल भने फरक क्षमता भएका व्यक्तिलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलमा होमिएकी छिन् । विगत एक वर्ष अगाडी नेपाली विषयमा स्थायी नियुक्त भएकी थिईन् ।

स्थायी शिक्षक भएलगतै उनी लामजुङको दोर्दी गाउँ पालिका वडा नं. ७ स्थित बाल कल्याण माध्यमिक विद्यालयमा पदस्थापन भईन् । तर, पदस्थापन भएको विद्यालयले दृष्टिविहिन शिक्षकका लागि उपयुक्त पुर्वाधार नभएको भन्दै हाजिरी गर्न दिएन् ।

विद्यालयले उनको समस्यालाई लिएर कामकाज गर्न गाह्रो हुने भनि स्थानिय पालिकालाई पत्राचार गरेको थियो । । सोही व्यहोराको पत्र समन्वय इकाइ, प्रदेश निर्देशनालय, विभाग र मन्त्रालयसम्म पुग्यो ।

धेरै पटक आफ्नो समस्या सम्वोधन गर्न सरकार र सरोकारवालाहरुलाई आग्रह गर्दापनि वेवास्ता गरे पछि उनी आजबाट अनसनमा बसेकी छिन् । फरक क्षमता भएका नागरिकले देशमा काम गर्ने वाताबरण सिर्जना गर्न उनले सम्वन्धित निकायलाई आग्रह गरेकी छिन् ।

‘सरकारले हाम्रो मुद्धाहरुमा कानुन बनाएको छ तर विडम्बना कार्यान्वयनमा कन्जुँस्याई गर्दा आज मैले यो समस्या भोग्न परेको छ’,उनले भनिन्, ‘शारीरीक रुपमा अशक्त भएपनि प्रतिस्पर्धाबाट सरकारी जागिर गर्न सक्ने मेरो क्षमतालाई कदर गरियोस् ।’
गत माघ महिनामा स्थायी शिक्षकमा नियुक्त भएकी पौड्यालले आफुलाई सहज हुने स्थानमा शिक्षण पेशा गरि आत्मनिर्भर बन्न सहजता मिलाउन माग सहित आजदेखि जिल्ला समन्वय ईकाई कास्कीमा अनसन बसेकी छिन् ।

‘हाम्रो समाजमा सवल महिलाहरुलाई त सुरक्षाको चुनौति छ हामी जस्ता फरक क्षमता भएका महिलाहरुलाई त झन कति समस्या छ,’उनले भनिन्, ‘मलाई पोखरा महानगर भित्रको जुनसुकै विद्यालयमा पढाउने वातावरण पाउनु पर्छ,आउन जान सहज होस ।’

उनले राजधानी केन्द्रित शिक्षकका आन्दोलनमा आफुहरु जस्ता फरक क्षमता भएका शिक्षकहरुको समस्याहरु उजागर नभएको गुनासो गरिन् ।

‘सवल शिक्षकहरु नीतिगत सुधारका मागमै व्यस्त भए तर हामी भनै उपयुक्त भौतिक पुर्वाधार नहुदा पेशाबाटै बन्चित छौ,उनले गुनासो गरिन्,‘हाम्रो समस्याहरु कसले सुनिदिने ?कसले समधान गरिदिने ?’ पोखरा वडा नं. २० का स्थायी बासिन्दा उनी विगत १५ वर्षसम्म राष्ट्रिय मावि बगरमा अध्यपन गराउदै आएकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।