वाटुलेचौरको कालिका मन्दिरमा बडादशैंभर दुर्गा पुजा हुने


     एभरेस्ट आवाज    
     असाेज २१ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा १६ वाटुलेचौरस्थित ऐतिहासिक कालिका मन्दिरमा यस वर्ष पनि वडादशैंको अवसरमा नवदुर्गा पुजा तथा आरती गरिने भएको छ ।

हिमालय क्लवको आयोजनमा यही असोज २८ गतेदेखि कार्तिक ७ गते वडादशैंको टिकाको दिनसम्म विभिन्न कार्यक्रम सहित दुर्गा पुजा गरिने क्लवका अध्यक्ष सुशील वस्नेतले जानकारी दिए ।

क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पुजाको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न समुदायले तयारी तिव्र पारेको सचिव शिवराज देवकोटाले जानकारी दिए ।

वाईसी चौविसे राजाका पाला देखि नै हुँदै आएको पुजालाई व्यवस्थीत रुपमा सम्पन्न गर्न क्लवका निवर्तमान अध्यक्ष मोहन वहादुर थापाको संयोजकत्वमा दुर्गा पुजा व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

दशैंको साँस्कृतिक तथा धार्मिक पक्षलाई जोगाई राख्न र यसको ऐतिहासिकताका विषयमा नयाँ पुस्तालाई जानकारी दिन कार्यक्रमलाई निरन्तरता दिईएको संयोजक थापाले बताए ।

पुजा अन्र्तगत घटस्थापनाको दिन देखि दशमीसम्म विहान नित्य पुजा , चण्डी पाठ र घटस्थापना गरिने साँझ सन्ध्याकालिन महाआरती, १सय ८ दिप प्रज्वलन, भजन किर्तन तथा परियार समुदायको नहरा प्रस्तुति र गन्धर्व समुदायले माल श्री धुन प्रस्तुत गर्ने तयारी गरिएको छ ।

फुलपातीको दिन क्षेत्री समाजको संयोजनमा चण्डीका, अम्विका र कालिका मन्दिरको परिक्रमा सहित कलश यात्रा गरिने वताईएको छ ।नियमित रुपमा पुजा आजा हुने भएता पनि नवदुर्गा भर विशेष पुजा अर्चना हुने र महाअष्टमीको साझँ दिप प्रज्वलन, कालरात्री पुजा र महाआरती सहितको विशेष पुजा हुने कालिका मन्दिरका पुजारी नारायण प्रसाद देवकोटाले जानकारी दिए ।

विशेष दुर्गा पुजा दशैं अवधिभर विहान र साँझमा नियमित हुने वताईएको छ ।हिमालय क्लवको संयोजनमा हुने दुर्गा पुजामा शुक्ला साहित्य प्रतिष्ठान,बडहरवोट आमा समुह, संरक्षण आमा समुह,नेवाः खल वाटुलेचौर, मैदान आमा समुह,क्षेत्री समाज, कालिका मन्दिर तथा कोत मामलियत व्यवस्थापन समिति र मानव अधिकारका लागी महिला एकल महिला समुह, परियार समाज लगायतका संघ संस्थाको सहकार्य रहेको क्लवले वनाएको छ ।

उक्त मन्दिरमा चौविसे राजा कुलमण्डन शाहको पाला देखि नै पुजा आजा हुदैं आईरहेको वताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।