पोखरा, कात्तिक १
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले होटलका कोठाहरु अपराध गर्न स्थल बन्न नदिन होटल व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपालीको महान चाँड बडादशैं, शुभ दिपावली, नेपाल सम्वत, छठलगायतका पर्वहरुको शुभकामना तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पर्यटकीय नगरी पोखराको मुटु मानिने वडा प्रहरी कार्यालय बैदाममा भर्खरै मात्र सरुवा भएर आएका डिएसपी श्रेष्ठले होटलमा पर्यटक मात्र नभई पर्यटकको नाममा अपराधीपनि आउन सक्ने भएकाले सचेत रहन व्यवसायीहरुलाई आग्रह गरेका हुन् । होटलका कोठाहरु अपराध गर्ने घटनास्थल नबनून्, उनले भने,‘होटलमा बस्न आउनेहरु सबै राम्रा पर्यटक मात्र हुँदैनन् । होटलका कोठाहरु अपराधको योजना बनाउने, अपराध स्थल बनाउने तथा बाहिर अपराध गरेर लुक्ने स्थलका रुपमा प्रयोग हुनसक्छ । त्यसैले तपाईंहरु सचेत रहनुहोला ।’
डिएसपी श्रेष्ठले होटलमा बस्नेहरुको गतिविधि शंकास्पद लाग्यो भने प्रहरीलाई खबर गर्न आग्रह गरे । तर प्रहरी आयो वा प्रहरी कार्यालयमा बोलायो भन्दैमा डराउने वा ढाँटछल गर्ने काम नगर्न उनको आग्रह थियो । प्रहरी आयो भन्दैमा डराउने वा आत्तिनु पर्दैन,उनले भने,‘प्रहरी तपाईंहरुकै सुरक्षाका लागि आउने हो । प्रहरीले अपराधबारे अनुसन्धान गर्न, सोधपुछ गर्न तपाईंकोमा आउनसक्छ वा तपाईंलाई बोलाउन सक्छ । त्यस्तोबेला जानेको, बुझेको वा देखेको कुरा भनेर प्रहरीलाई सहयोग गर्नूस् ।’
डिएसपी श्रेष्ठले रात्रीकालीन व्यवसाय सुन्दा राम्रो लागेपनि व्यवहारमा कठीन हुने गरेको बताए । रात्रीकालीन व्यवसायकै कारण अहिले पोखराको पर्यटकीय केन्द्र लेकसाईडमा अबाञ्चित गतिविधि भइरहेको भन्ने गुनासो स्थानियबाट आइरहेको उनले जानकारी दिए ।‘लेकसाईडमा अहिले विकृति बढ्यो । अनैतिक क्रियाकलाप बढ्यो । होहल्ला, कोलाहल बढ्यो भनेर बारम्बार गुनासो आइरहेको छ’–उनले भने ।
डिएसपी श्रेष्ठले होटलमा सिसी क्यामरा राख्न, उज्यालोका लागि लाईटहरुको प्रयोग गर्न, पाहुनाको व्यक्तिगत विवरणसँगै मोवाइल नम्बर राख्न, कम उमेरका भए नराख्न, पर्यटक आउँदा झोला तान्ने, ठेल्ने नगर्न आग्रह गरे । व्यवसायलाई सम्मानित र मर्यादित बनाउन सके गुणस्तरीय पर्यटकको संख्या बढाउन मद्धत पुग्ने उनले बताए ।
कार्यक्रममा बोल्दै पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण निउरेले शान्ति सुरक्षा वहाली गर्नका लागि प्रहरीलाई आफूहरु सहयोग गर्न तयार रहेको बताए । होटलमा अवाञ्छित गतिविधि हुन नदिन आफूहरु सचेत रहेको उनको भनाई थियो ।
समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले देशको अर्थतन्त्रले लय छाड्दा व्यवसायपनि धरासायी हुने क्रममा रहेकाले यसलाई जोगाउन गरिने क्रियाकलापमा प्रहरीको सहयोग रहने विश्वास व्यक्त गरे ।
समितिका अध्यक्ष अमृत घिमिरले व्यवसायलाई सम्मानित र मर्यादित बनाउन आफूहरु दत्तचित्त भएर लाग्ने बताए । तर शान्ति सुरक्षा कायम गर्न भने प्रहरीले सहयोग गर्नुपर्ने उनको भनाई थियो । समितिका उपाध्यक्ष राजु सुनार र महासचिव ईन्दू श्रेष्ठलगायतले लेकसाईडका व्यवसायीले पर्यटकको झोला तान्ने, स्कर्टिङ गरेर गाडीबाट उत्रिन नदिनेलगायतका गतिविधि गरेको भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







