महानगरको सूचनामा उच्च अदालतको रोक, फिर्के मिचेर बनाइएका संरचना तत्काल नहटाउन अन्तरिम आदेश


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८० मा प्रकाशित




कार्तिक २४ पोखरा । पोखराको बीच भागबाट बग्ने फिर्के खोला मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरपालिकाको ३५ दिने सूचनालाई उच्च अदालत पोखराले रोकेको छ ।

न्यायाधीश मिलन राईको एकल इजलासले फिर्केखोलाको मापदण्ड भित्र परेको संरचना नहटाउन शुक्रवार अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले तत्काल पोखरा महानगरको सूचनाको कार्यान्वयन नगर्नू/नगराउनू तथा कारण देखाउनू भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता तिलक पराजुलीले जानकारी दिए ।

पोखरा महानगरले फर्के खोलाको मापदण्ड विपरीत बनेका संरचनालाई भत्काउने सूचनालाई लिएर उच्च अदालत पोखरामा रिट परेको थियो । उक्त रिटमाथि सुनुवाई भएको हो विभिन्न सङ्घ–संस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिकासमेत पाँच जनालाई विपक्षी बनाइएको थियो ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल, अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए ।

फिर्के खोलाको खोलाघरभित्र बनेका संरचना हटाउन कात्तिक १० गते पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको थियो । पोखरा वडा १८ को अँधेरीकुना मुहान भई पोखरा–६ गाईघाटको फेवातालमा गएर मिसिने फिर्केखोला महानगरका वडा २, ४, ५, ६, ७, ८, १७ र १८ भएर बग्ने गर्दछ ।

फिर्केखोलाको खोलाघरभित्र एक सय ६० संरचना बनेका छन् । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका सङ्घ–संस्थाले संरचना बनाएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।