गण्डकी सरकारले बनायो पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०८० मा प्रकाशित




पोखरा, मंसिर १२

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति बनाएको छ । पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई दुई पटक सिफारिस गरेको गण्डकी सरकारले बल्ल आएर अध्ययन समिति बनाएको हो । यसअघि पोखरालाई पर्यटकीय राजधानी बनाउन गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र त्यसपछिका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पालामा गरेर दुई पटक संघ सरकारलाई सिफारिस गरिएको थियो ।

पहिलो पटक सिफारिस पठाउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए भने दोश्रो पटक पठाउँमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तर दुबै सरकारले प्रदेशको सिफारिस अनुसार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेन ।

उसो त पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी बनाउनका लागि संघ सरकारलाई दवाब दिदै आएको छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाईपनि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले भेटेरै पर्यटकीय राजधानी घोषणाका लागि आग्रह गरिसकेका छन् ।

तर संघ सरकारले प्रदेश र महानगरको सिफारिस र आग्रहलाई बेवास्ता गर्दै आएको छ । पटक÷पटकको सिफारिस कार्यान्वयनमा नआएपछि गण्डकी प्रदेश सरकार सिफारिस समिति बनाउन बाध्य भएको हो । समितिले पोखरालाई पर्यटकीय राजधानी बनाउन आवश्यक मापदण्ड पूरा गर्नेबारे अध्ययन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने सम्बन्धी संक्षिप्त अवधारणापत्र तयार पारिसकेको छ । सोही अवधारणापत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको मुख्यमन्त्री निकट श्रोतले बताएको छ ।

पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्वि गर्ने नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति बनाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गण्डकी प्रदेशको समृद्धीको मुख्य आधार पर्यटन भएकाले गण्डकी सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन समिति बनाएको उनको भनाई छ ।

अध्ययन समितिमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्य छन् । समितिको सदस्यहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, पोखरा महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा पर्यटन परिषदका अध्यक्ष, पोखरा महानगर पर्यटन विकास समितिका उपाध्यक्ष रहेका छन् । त्यस्तै, पर्यटन विज्ञका रुपमा डा.रामजी शर्मा, वासुदेव त्रिपाठी सदस्यका रुपमा राखिएका छन् भने जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रतिनिधि, पर्यटक प्रहरी कास्की प्रमुख र नेपाल पत्रकार महासंघ, कास्कीका प्रतिनिधि सदस्य रहने जनाइएको छ । समितिको सदस्य सचिवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशको प्रशासन, योजना तथा पर्यटन महाशाखा प्रमुख वा पर्यटन हेर्ने महाशाखा प्रमुख रहने जनाइएको छ ।

समितिलाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्ने, पर्यटकीय राजधानीको रुपमा विकास गर्नका लागि सेवाको गुणात्मकता बृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्नका लागि आवश्यक मापदण्डहरुको पहिचान गर्ने, प्रदेश राजधानी घोषणा गर्ने प्रक्रियाहरु पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्नेलगायतका कार्यादेश तोकिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । ‘पोखराको नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारहरुको विकास तथा विविधीकरण गरी पोखरालाई पर्यटकीय राजधानी कसरी बनाउन सकिन्छ भन्नेबारेमा अध्ययन प्रतिवेदन तयार पार्नु’ प्रतिवेदनमा भनिएको छ । समितिलाई ३० दिनको समयसीमा तोकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।