हार स्वीकार्न नसकेका ट्रम्पले संसद भवन क्यापिट हिलमै आक्रमण गराए

- आक्रमण अमेरिकालाई एक धब्बा हो, यो त्यति सजिलै धुन सकिदैन, अमेरिकी प्रजातन्त्रमाथि कालो धब्बा हो –सिनेटर चक शूमर


     एभरेस्ट आवाज    
     पौष २३ गते २०७७ मा प्रकाशित




जनवरी ६ को सन्ध्या अमेरिकी प्रजातन्त्रमा कहिल्यै नमेटिने कालो धब्बा बनेर आयो ।

निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रजातन्त्रको मन्दिर मानिने संसद भवन क्यापिट हिलमै आक्रमण गराएका छन्।

जसको सर्वत्र निन्दा र भत्र्सना शुरु भएको छ। राष्ट्रपति निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुसम्मले यस हर्कतको निन्दा गरेका छन्।

राष्ट्रपति निर्वाचित बाइडनले यस आक्रमणलाई विद्रोहको संज्ञा दिँदै तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गर्दै भनेका छन्, ‘यो कुनै विरोध होइन। यो एउटा विद्रोह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेराबन्दीलाई समाप्त पार्ने माग गरुन्।’

राष्ट्रलाई सम्बोधन गर्दै बाइडनले ट्रम्प समर्थक भिडलाई ‘पछि हट्न र लोकतान्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गर्दै यो ‘अति भएको’ टिप्पणी गरेका छन्।

क्यापिटल भवनमा केही व्यक्तिले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिस भएको र यो देशद्रोह हो, उनको निचोड थियो।

उपराष्ट्रपति माइक पेन्सले यो हिंसा खप्न नसकिने भन्दै जो जो संलग्न छन् तिनलाई सख्त कार्वाही गरिने चेतावनी दिँदै भने, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानूनी सजाय दिइनेछ।’

सिनेटर चक शूमरले यस घटनालाई एक अन्तिम, भयानक र अमिट विरासतको संज्ञा दिँदै भनेका छन्, ‘६ जनवरीलाई अब हामी अमेरिकी इतिहासको सबैभन्दा बदनामीका रुपमा चिनिने सूचीमा जोड्न सक्छौं।’
प्रजातन्त्रका लागि पवित्र मानिने यस मन्दिरमा रहेका निर्वाचित प्रतिनिधिहरु आफ्नो ज्यान जोगाउनकै लागि भागाभाग गरिरहेको दृश्य संसारले देख्नपर्नु गंभीर लज्जाको विषय भएको उनले बताए।

यो अमेरिकालाई एक धब्बा भएको भन्दै शूमरले यो त्यति सजिलै धुन नसकिने र ४५ औं अमेरिकी राष्ट्रपतिको एक अन्तिम, भयानक, अमिट विरासत पक्कै पनि हामी सबैका लागि खराब भएको टिप्पणी गरेका छन्।

ट्रम्पको यी उग्र आक्रमणकारी जत्था प्रदर्शनकारी नभई ‘घरेलू आतंकवादी’ भएको र यिनले अमेरिकाको प्रतिनिधित्व गर्न नसक्ने पनि उनले उल्लेख गरेका छन्।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।