पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाईएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ स्थित घार्मी मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरि बालाचर्तुदशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए ।
विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको थियो । रुद्री पुजा सकेपछि मात्रै सद्विज छर्ने धार्मिक परम्परा भएपनि विहानै भक्तजनको भिड लागेको वताईएको छ ।
स्थानिय राम्चे निवासी हिमलाल पौडेलको घरवाट विधिपुर्वक पुजाआजा गरी निकालिएको फुलको डोली भजन किर्तन सहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसर पुर्याईएको थियो । विहानैवाट शुरु भएको सद्विज छर्ने कार्य साँझ अवेरसम्म चलेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले बताए ।
त्यस क्षेत्रमा सद्विज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरुञ्चौर लगायतका क्षेत्रवाट भक्तजन आउने गरेको स्थानिय नमराज पौडेलले जानकारी दिए । चोखो नितो गरी शुद्ध भई सद्विज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ ।
विश्व हिन्दु महासंघ पोखरा १९ र भुमे मैदान भजन समुहले दिनभर भजन किर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन दिएका थिए ।मनकामना आमा समुहले भक्तजनको लागी पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए । पछिल्लो समय विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित गरिएको र विहान वेलुका नियमित पुजाआजा गरिएको समितिका कोषध्यक्ष तेजेन्द्र पौडेलले बताए ।
स्थानिय डाडाँ निवासी शिवप्रसाद पौडेलले यस क्षेत्र हिन्दुहरुको पवित्र भुमि भएको वताउँदै, यसको वृहत्तर विकासका लागी क्षेत्र विकास समिति मार्फत सवैलाई समेट्न सुझाव दिनुभयो ।सहभागीले घार्मीको धार्मिक पर्यटन विकासका लागी ३ वटै तहका सरकारको ध्यान पुग्नु पर्नेमा जोड दिए ।
पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ्रेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापना देखिनै त्यहाँ बाला चर्तुदबी तथा शिवरात्री पर्व विशेष रुपमा मनाउने गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







