एसियाकै ठूलो स्याउ फार्म भनेर प्रचार गरिएको एग्रो मनाङ प्रालि अबैध रुपमा सञ्चालन भएको दाबी गरिएको छ । मनाङ जिल्लाको डिस्याङ गाउँपालिका वडा नम्बर १ पिसाङमा सञ्चालित यो फार्म विवादित जग्गामा सञ्चालनमा रहेको र यसले फर्जि कागजात बनाई अनुदान लिएर सञ्चालनमा रहेको गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेले विहीबार समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा दाबी गरेका हुन् ।
२०७० साल जेठ २३ गते दर्ता भएर सञ्चालनमा रहेको एग्रो मनाङ मनाङे निर्विरोध निर्वाचित भएको मनाङ (ख) मा पर्दछ । यो फार्म पूर्व सांसद पोल्देन छोपाङको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रवाफ र प्रभावमा सञ्चालित एग्रो मनाङ स्वामित्व नै नखुलेको जग्गामा रहेको उनको दाबी छ । एग्रो मनाङले ७ सय ३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिएर ८ सय २५ भन्दा बढी रोपनी जग्गामा कब्जा जमाएको उनको आरोप छ । मनाङ जिल्लामा पर्ने पिसाङ, घ्यारु, डावल, भ्राका, टङ्की, खाङ्सारसहित सात पूर्व गाउँ विकास समितिको नाममा रहेको सो जग्गाको स्वामित्व हाल कसको नाममा छ भन्नेमा मालपोत कार्यालय नै अनिर्णित रहेको उनको दाबी छ ।
मनाङ सेवा समितिबाट एग्रो मनाङमा जग्गाको स्वामित्व गएको देखिन्छ,पत्रकार सम्मेलनमा सांसद मनाङेले वितरण गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘जसले फार्मलाई जग्गा दियो न त्योसँग जग्गाको स्वामित्व छ, नत ती आधिकारिक व्यक्ति वा संस्था नै हुन् । यो सरासर गैरकानूनी छ ।’ जग्गा दिने भनेर हस्ताक्षर गर्नेहरुले आफूहरुलाई प्रयोजन नखुलाई खाली कागजमा हस्ताक्षर गराएको भनेर भन्ने गरेको सांसद मनाङेको दाबी छ । उनले एग्रो मनाङको सबै कागजात नक्कली भएको भन्दै त्यसको छानविन गर्न मागसमेत गरेका छन् ।
सञ्चालन नै अवैध ढंगबाट भएको एग्रो फार्मले अहिले आएर वन फडानी गर्नुका साथै सार्वजनिक जग्गासमेत हडपेको सांसद मनाङेको आरोप छ । फार्मले लुकीछिपी अवैध रुपमा रुखहरु काटिरहेको उनको दाबी छ । अनुमति र अख्तियारी नलिई रुख काटेको पाइएको छ,उनले भने,‘रुख काट्ने र वन जंगल फडानी गर्ने अधिकारी एग्रो फार्मलाई कसले र किन दियो ? यो आफूखुशी काटिरहेको पाईन्छ ।’ उनले अवैध रुपमा वन फडानी र रुख कटानी भइरहँदा सम्बन्धित सरोकारवाला निकाय मौन बस्नु लज्जाको विषय भएको टिप्पणी गरे । उनका अनुसार अहिलेसम्म फार्मले विद्यालयको १० रोपनीसहित ८० रोपनी जग्गामा रहेको वन फडानी गरिसकेको छ ।
सांसद मनाङेले अवैध रुपमा सञ्चालित एग्रो मनाङले पटक पटक गरेर करोडौं अनुदान लिएर सरकारी रकमको दुरुपयोग गरेको आरोपपनि लगाएका छन् । एसियाकै ठूलो फार्म भनेर प्रचार र कागजात बनाएकै भरमा अनुदान दिनु अनुचित हुने उनले बताए । ‘संस्था कसरी दर्ता भयो, ठीक रूपले सञ्चालनमा छ कि छैन, कागजपत्र ठिक छन् कि छैनन् भन्ने हेक्का नराखी अनुदान बाँडिनु उचित होईन,उनले भने,‘पहुँचको दुरुपयोग गरेर अनुदान लिइएको छ । यसले गम्भीर प्रश्न खडा गरेको छ ।
उनका अनुसार एग्रो मनाङले हिमाली प्रोजेक्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, कोल्ड स्टोर सञ्चालन, स्याउ विशेष कार्यक्रम, फलफूल बिस्तारलगायत दर्जनौं शीर्षकमा केन्द्रदेखि स्थानीय तहसम्मको करोडौं बजेट अनुदान लिइसकेको छ । सो फार्मले बैंकबाट पनि करोडौं रुपैयाँ सहुलियत ऋण लिएको उनको दाबी छ ।
सांसद मनाङेले मनाङको पिसाङमै रहेको जनकल्याण प्राविको जग्गामा मदिरा कारखानासमेत खोलिएको दाबी गरेका छन् । विद्यालयको जग्गामा विना अनुमति मदिरा कारखाना खोलेर रजगज गर्दापनि रोकतोक नहुनु लज्जाको विषय भएको उनले बताए ।
सांसद मनाङेले स्रोत दुरुपयोग गरेको भन्दै अख्तियारमासमेत उजुरी गरेको बताए । आफूसँग प्राप्त तथ्य र प्रमाणका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको उनले बताए । त्यसको बोधार्थ सम्बन्धित सरोकारवाला निकायमा बुझाएको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







