पृथ्वीचोकमा पृथ्वीनारायणको २५ फिटको सालिक राख्ने घोषणा


     एभरेस्ट आवाज    
     पौष २७ गते २०८० मा प्रकाशित




पोखरा । राष्ट्र गौरव अभियानले पोखराको पृथ्वीचोकमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको सालिक जुनसुकै हालतमा राखेर छोड्ने घोषणा गरेको छ । शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अभियानका संयोजक सिरोज विजय कोइरालाले लखन थापाको सालिक अन्य ठाउँमा स्थानान्तरण गरेर पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राख्ने घोषणा गरेका हुन् ।

उनले कम्तीमा २५ फिटदेखि ५० फिटसम्मको मूर्ति राख्ने दाबी गरे । ‘पृथ्वीचोकमा पृथ्वीनारायणको कम्तीमा २५ फिटदेखि ४०÷५० फिटको सालिक राख्ने घोषणा गर्दछु,’ उनले भने, ‘पोखराका मेयर साबलाई हामी सम्झाउने छौं । यत्रो देश दिनेलाई के दिनुपर्छ हामी उहाँलाई बुझाउने छौं । यहाँभन्दा ठूलो सालिक कहीँ हुने छैन ।’ कुनैबेला पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक संरक्षण गर्न नसक्ने जिल्ला प्रशासन कार्यालयको नेतृत्व आफूहरूले पोखरामा गरेको कार्यक्रम देखेर झस्किएको र थ्रेट महशुस गरेको कोइरालाले सुनाए ।

अभियानका प्रवक्ता अरूण गिरीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको सालिक राखेर उनको योगदानको सम्मान गरिनुपर्ने बताए । लखन थापाको सालिक पोखरा महानगरपालिकाले स्थानान्तरण नगरे आफूहरूले नै गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा राजनीतिज्ञ रवीन्द्र मिश्र, राजनीतिक विश्लेषक सौरभ, इतिहासविद् हरिप्रसाद सोडारीलगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।