पोखरामा लोपोन्मुख लमजुङ्गे ठाडोभाका प्रशिक्षण शुरु

- धम्पुलाई ठाडोभाकाको महानायक उपाधि घोषणा गर्न प्रतिष्ठानको माग


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८० मा प्रकाशित




माघ ५ पोखरा । पोखरामा ठाडो भाका लोककला प्रतिष्ठान नेपाल लमजुङको आयोजनामा तीनदिने ठाडोभाका प्रशिक्षण शुरु भएको छ ।

पोखरा नयाँबजारस्थित तमुधिं नेपालमा रोधिं टेलिभिजनसँगको सहकार्यमा आयोजित लोपोन्मुख ठाडोभाका प्रशिक्षणको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गरिन् । कार्यक्रमको उद्घाटन गर्दै उनले नेपाली पहिचानको लोक सँस्कृति संरक्षण गर्न राज्यको दायित्व भएको बताइन् ।

उनले यसको संरक्षणका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । मुलुकको परिवर्तनकै कारण लोकसँस्कृति विकास हुने वातावरण बनेको भन्दै संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समावेशिताका पक्षमा साथै जनआन्दोलनको उपलब्धिहरु रक्षाका लागि लाग्नुपर्नेमा उनको जोड थियो । लमजुङसँग आफ्नो विगतको सम्बन्धको चर्चा गर्दै मन्त्रि सिंखडाले लमजुङमा प्रचिलत र लोपोन्मुख अवस्थामा रहेको ठाडो भाकाको संरक्षणकालागि आफु पनि सल्लाहकार रहि संरक्षणमा लाग्न चाहेको बताइन् ।

कार्यक्रममा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का विखर्ची, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलगायतले बोलेका थिए ।

कार्यक्रममा ठाडोभाकाका गायक एवम प्रशिक्षक बुद्धिमान दुरा धम्पुले प्रशिक्षणको बारेमा जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा ठाडोभाका वरिष्ठ गायक बुद्धिमान दुरा धम्पु र सिता दुराले सहजीकरण गर्नेछन् । प्रशिक्षणमा २४ जना प्रशिक्षार्थीहरु सहभागी रहेको आयोजकले जनाएको छ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यत्रममा स्वागत रोधिं टिभीका सञ्चालक बालकासी गुरुङले स्वागत र टसबहादुर गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

सो अवसरमा ठाडोभाकाका गायक, सर्जक, प्रशिक्षक बुद्धिमान दुरा धम्पुलाई ठाडो भाका महानायक उपाधि घोषणा गर्न सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा र गण्डकी प्रज्ञा प्रतिष्ठानले लिखित अनुरोध समेत गरेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले जानकारी दिए ।

कार्यक्रममा ठाडोभाका संरक्षणमा विशेष सहयोगकालागि लमजुङ समाज पोखरा, डडुवा दुर्छा लमजुङ तमु सम्पर्क समाज पोखरा, दुरा सेवा समाज पोखरा र कयाल निलबहादुर गुरुङ फस्ट जिआर भुपू सैनिक संगठनलाई सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।