एपिएफलाई हराउँदै पुलिस आहा ! रारा पोखरा गोल्डपको क्वाटरफाईनलमा


     एभरेस्ट आवाज    
     माघ १२ गते २०८० मा प्रकाशित




माघ १२ पोखरा । मानबहादुर परियारको नायकत्वमा नेपाल पुलिस क्लवले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई २–० गोल पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । प्रतिष्पर्धात्मक खेलमा स्ट्राइकर मानबहादुरले २ गोल गरेपछि एपिएफलाई पराजित गर्दै पुलिस पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको अन्तिम ८ मा पुगेको हो ।

शुक्रबारको खेलमा नायक बनेका मानबहादुरले खेलको १९ औं र ७१ औं मिनेटमा गोल गरेपछि एपिएफ पहिलो खेलबाटै घर फर्किएको छ । शुक्रबार दुई गोल गरेका मानबहादुरको दुबै गोल हेडर गोल हो । मानबहादुरले खेलको १९ औं मिनेटमा हेडर गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । प्रताप गुरुङले हानेको फ्रिकिकलाई पेनाल्टी बक्स भित्र रहेका उनले हेडर गर्दै बललाई गोलपोष्टको दिशा दिए ।

पहिलो गोलबाट थप उत्साहित देखिएका मानबहादुरले खेलको ७१ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै अग्रता दोब्बर बनाए । पेनाल्टी बक्स एरियामा पाएको क्रस बललाई हेडर गर्दै जाली चुमाए ।

पहिलो हाफमा गोल खाएपछि दवाबमा परेको एपिएफले त्यसपछि भने सम्हालिएर खेल्ने प्रयास ग¥यो । बराबरी गोल फर्काउने उद्देश्य राखेर लगातार आक्रमण बुनेको एपिएफले अधिकांश समय बल होल्ड गरेपनि स्कोर गर्न चुक्दा पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो ।

पुलिस आहा ! रारा पोखरा गोल्डकपको सर्वाधिक उपाधि बिजेता टिम हो । पुलिस ६ पटकको बिजेता तथा ५ पटकको उपबिजेता टिम हो ।

शुक्रबारको बिजेता पुलिसले अब क्वार्टरफाइनलमा माघ १६ गते चर्च ब्वाइजसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगितामा भोलिदेखि क्वार्टरफाइनल खेलहरु शुरु हुनेछन् । क्वार्टरफाइनलको पहिलो खेलमा शनिबार विदेशी टिम भुटानको पारो एफसीबिरुद्ध थ्रीस्टार प्रतिष्पर्धामा उत्रिनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।