आहा ! रारा पोखरा गोल्डकपको फाइनल भिडन्त भोलि : कसले जित्ला उपाधि ?


     एभरेस्ट आवाज    
     माघ १९ गते २०८० मा प्रकाशित




माघ १९ पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको उपाधि भिडन्त शनिबार हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा उपाधिका लागि थ्रीस्टार क्लव र त्रिभूवन आर्मी क्लव प्रतिष्पर्धामा उत्रिदैछन् । करिब १५ हजार दर्शकबीच हुने उपाधि भिडन्तमा जसले राम्रो खेल्छ उसैलाई दर्शकको साथ र समर्थन रहन्छ । दर्शक बाह्रौ खेलाडी मानिने भएकाले त्यसले खेलाडीको मनोबल उकास्न सघाउँछ ।

थ्रीस्टारले सेमीफाइनलमा जाउलाखेल युथ क्लवलाई १–० ले पन्छाउँदै फाइनलको यात्रा गरेको हो । यसअघि प्रि–क्वाटरफाइनलमा आयोजक सहारा क्लव पोखरालाई २–१ र क्वाटरफाइनलमा भुटानको पारो एफसीलाई २–० ले हराएको थियो ।

त्रिभूवन आर्मीले भने सेमीफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लवलाई २–१ गोल अन्तरले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । यसअघि प्रि–क्वाटरफाइनलमा मोफसलको नवलपुर राईजिङ क्लवलाई १–० र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पीयन संकटा क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

थ्रीस्टार पाँच पटकको उपाधि बिजेता टिम हो । पुलिस पछि सर्बाधिक उपाधि जित्नेमा थ्रीस्टार दर्ज छ । त्यसैले थ्रीस्टारलाई आहा ! रारा पोखरा गोल्डकपमा भाग्यमानी टिम मानिन्छ । तर त्यहि भाग्यमानी टिमबिरुद्ध भिड्ने त्रिभूवन आर्मी भने अभागी टिम मानिन्छ । निरन्तर सहभागि हुँदै आएको आर्मी चार पटक फाइनल पुगेरपनि उपाधि जित्न नसकेको अभागी टिम हो ।

त्यसैले आर्मी यसपटक जसरीपनि उपाधि जित्ने दाउमा छ । यसपटक राम्रो तयारी भएकाले उपाधि जित्नेमा आर्मीका कप्तान भरत खवास विश्वस्त छन् । अहिलेसम्म उपाधि जित्न नसक्नु आर्मीको दुर्भाग्य हो, शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै उनले भने,‘तर यसपटक तयारी राम्रो छ । हामी उपाधि जित्नेमा विश्वस्त छौं ।’

कप्तानमात्र होईन, प्रशिक्षकपनि यसपटक उपाधि जित्नेमा ढुक्क छन् । प्रशिक्षक मेघराज केसीले युवा खेलाडी रहेको र उनीहरुले उपाधि जित्नेमा आफू ढुक्क रहेको बताए । आफ्नो पूर्व क्लव थ्रीस्टारबिरुद्ध उपाधि भिडन्तमा रहेका उनले भने, ‘म पूर्व क्लवबिरुद्ध भिड्न तयार छु । हामी उपाधि जित्नका लागि आएका हौं र जित्न सक्षमपनि छौं ।’

पाँच पटक उपाधि जितेको थ्रीस्टारपनि उपाधिको जित संख्या थपेर नेपाल पुलिस क्लवको बराबरी गर्ने योजनामा छ । पुलिसले ६ पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेर सर्बाधिक उपाधि बिजेताको रुपमा आफूलाई उभ्याएको छ । प्रशिक्षक र कप्तान पूर्व मेट भएकालेपनि यसपटक कम्विनेसन मिल्दा उपाधि जित्न सजिलो हुने उनीहरुको विश्वास छ । कप्तान विराज महर्जनले भने,‘पूर्व मेट नै अहिलेको प्रशिक्षक भएकाले टिममा सहज वातावरण छ । यसैले खेल जित्न सहज हुने विश्वास छ ।’ उनले उपाधि भिडन्तका लागि आफूहरु तयार रहेको बताए ।

प्रशिक्षक विक्रम लामाले आहा ! रारा पोखरा गोल्डकप जितेर उपाधि यात्रा शुरु गर्ने योजनामा आफू रहेको बताए । उनले यो उपाधि भिडन्त आफ्नो लागि अवसर र चुनौति दुबै भएको बताउँदै भने,‘यो उपाधि जितेर म प्रशिक्षण करियरमा उपाधि यात्रा शुरु गर्नेछु ।’ तर उनको यो उपाधि यात्रामा उनकै पूर्व गुरु मेघराज केसी बाधक बन्न सक्छन् । त्यसैले उनले उपाधि जित्नका लागि आफ्नै गुरुको योजना विफल पार्नुपर्ने हुन्छ । ‘त्यसका लागि म तयार छु’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।