आहा ! रारा पोखरा गोल्डकप : पाँचौ प्रयासमा आर्मी च्याम्पीयन


     एभरेस्ट आवाज    
     माघ २० गते २०८० मा प्रकाशित




माघ २० पोखरा । पोखरामा सम्पन्न २३ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधि त्रिभूवन आर्मी क्लवले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टार क्लवलाई ३–० गोल अन्तरले पन्छाउँदै आर्मीले उपाधि जितेको हो ।

यसअघि चार पटक फाइनल पुगेरपनि उपाधिविहीन् आर्मीले पाँचौ पटकको प्रयासमा उपाधिको खडेरी तोड्न सफल भएको छ । १५ पटक सहभागिता जनाएको आर्मी २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।

आर्मीलाई पहिलो उपाधि दिलाउनका लागि फाइनल भिडन्तमा कप्तान जिलेस्पीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे ।

शुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको आर्मीले ३८ औं मिनेटमा गोल गर्दै अग्रता लियो । अनमार्कमा रहेका जिलेस्पीले सिद्धान्त चौधरीले मैदानको दायाँ साइडबाट हानेको कर्नरमा हेडर गोल गोल गरेका हुन् ।

गोल खाएपछि थ्रीस्टार थप आक्रामक बन्यो । गोल फर्काउन प्रयासरत थ्रीस्टारका खेलाडीहरु अगाडि बढेर खेले । जसको फाइदा उठाउँदै आर्मीले अग्रता दोब्बर पा¥यो । अग्रता जोगाउन रक्षात्मक बनेको आर्मीले काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीति अप्नाउँदा सफलता मिलेको हो । खेलको ८३ औं मिनेटमा फत्तेमान घलेले पाएको अवसरलाई खेर नफाली जाली चुमाए । उनले मैदानको दायाँ साइडबाट साथीले दिएको क्रसमा उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । तेश्रो गोल भने थ्रीस्टारको कमजोरीको फाइदा उठाउँदै आर्मीका वसन्त जिम्बाले गोल गरेका हुन् । विपक्षी खेलाडीबीच तालमेल नमिलेको मौका छोपेर निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको ५ मिनेटको ईञ्जुरी समयको चौथो मिनेटमा विपक्षी खेलाडीको खुट्टाबाट बल खोसेर अगाडि बढाएका उनले विपक्षी गोलकिपर अभिषेक बराललाई छलाउँदै गोल गरेका हुन् ।

जितसँगै उपाधि बिजेता त्रिभूवन आर्मी क्लवले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता थ्रीस्टारले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा आर्मीका विमल पाण्डे सर्बोत्कृष्ट खेलाडी घोषितहुँदै इलेक्ट्रिक स्कुटर जित्न सफल भए ।

त्यस्तै, सर्बाधिक गोलकर्तामा ३ गोल गरेका आर्मीका दीनेश हेमजन, उत्कृष्ट गोलरक्षकमा आर्मीकै समित श्रेष्ठ, उत्कृष्ट डिफेन्डरमा आर्मीका विमल पाण्डे, स्ट्राइकरमा आर्मीकै जिलेस्पीजंग कार्की, उत्कृष्ट प्रशिक्षकमा आर्मीकै मेघराज केसी, उत्कृष्ट मिडफिल्डरमा थ्रीस्टारका विवेक पौडेल, पव्लिक च्वाईसमा आर्मीका कप्तान भरत खवास र थ्रीस्टारका गोल रक्षक अभिषेक बराल घोषित भए । त्यस्तै, अनुशासित टिममा जाउलाखेल युथ क्लव घोषितहुँदै पुरस्कृत भएको छ ।

बिजेताहरुलाई अखिल नेपाल फुटबल संघ –एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, सहारा क्लव पोखराका संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशकद्वय प्रकाश केसी र किरण केसीलगायतले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।