माघ २० पोखरा । उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य लुट्नेहरुलाई कानूनी दायरामा ल्याउँदा आतंकित भए केहि फरक नपर्ने बताएका छन् । पोखरामा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले राज्य लुट्ने र भ्रष्टाचारीलाई कारवाही गर्दा कोहि आतंकित भए केहि फरक नपर्ने बताएका हुन् ।
भ्रष्टाचारीलाई रातो कार्पेट बिछ्याउने पक्षमा सरकार नरहेको बताउँदै उनले भने,‘सँधै हजुर तपाईंहरु लुटिराख्नूस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन । देश बरबाद हुँदै जाओस्, भ्रष्टाचारपनि बढ्दै जाओस्, त्यसको निम्ति हामीपनि सेवा गर्न पाउँ भनेर रातो कार्पेट बिछ्याउने पक्षमा हामी छैनौं ।’ उनले अब राज्य लुट्न हुँदैन रहेछ भन्ने सबैलाई चेत खुल्नुपर्ने बताए । ‘भ्रष्टाचारी र राज्य लुट्नेलाई कानूनी दायरामा ल्याउँदा कोहि आतंकित हुन्छन् भने होउन्, अब लुट्न हुन्न रहेछ है भन्ने वातावरण निर्माण गर्नु परेन ? ’–उनले भने । उनले भ्रष्टाचारी, जालसाजी र ठगी गर्ने, संगठित अपराध गर्नेलाई दृढतापूर्वक कारवाहीको प्रक्रिया अगाडि बढाईने तर कानूनबिरुद्ध गएर कसैलाई कारवाही गर्ने वा डाम्ने काम भने नगर्ने स्पष्ट पारे ।
उप–प्रधान तथा गृहमन्त्री श्रेष्ठले दोषीलाई दवाबका आधारमा छाड्ने काम सरकारले नगर्ने अडान राखे । समृद्धिका लागि सुशासनलाई कायम गर्नु अनिवार्य शर्त भएको बताउँदै त्यसलाई बुझेर नै सरकारले सुशासनको अभियान चालेको बताए । भ्रष्टाचारका फाइलहरु निरन्तर खोलिने बताउँदै उनले भने,‘तर जनताको अपेक्षा फटाफट होस् भन्ने छ । त्यसो गर्न त हामीसँग त्यतिधेरै जनशक्ति छैन, तथ्य र प्रमाण खोज्न समयपनि लाग्छ ।’ कसैले फल्नापनि भ्रष्टाचारमा संलग्न छ भनेकै आधारमा तथ्य र प्रमाण नभेटिएसम्म कसैलाई कारवाही गर्न नसकिने उनको प्रष्टोक्ती छ । भ्रष्टाचारको फाइल खोल्दै जाँदा राजनीतिक सौदाबाजी गरिदैन,उनले भने, ‘विधिसम्मत जाँदाखेरी राजनीतिक सौदाबाजीको आधारमा वा अरु कुनै अबाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा सम्झौता गर्दैन ।’
उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी प्रदेशका दुई नाकाहरु कोरला र त्रिवेणी नाकामा सुरक्षा थ्रेट नरहेको बताए । तर त्यहाँ व्यवस्थापनको भने समस्या रहेको उनको भनाई छ । उनले दुबै ठाउँको नाकालाई व्यवस्थित गर्न नेपालतर्फ संरचनाहरु निर्माण गर्नुपर्ने, कर्मचारी व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको र यसमा सरकारको ध्यान रहने बताए ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीले गण्डकी प्रदेशको शान्ति सुरक्षाको स्थिति सामान्य रहेको निश्कर्ष निकालेको उनले बताए । तर केहि सुरक्षा चुनौतिहरु भने रहेको उनको भनाई छ । उनले गण्डकी प्रदेशमा अन्य प्रदेशमा रहेका सुरक्षा चुनौतिहरुजस्तै गण्डकीमा पनि संविधान मान्दिन भन्ने, संविधान उलंघन गर्छु भन्ने, राजतन्त्र स्थापित गर्छु भन्ने, संविधान फेरेर धार्मिक राज्य बनाउँछु भन्ने विविध प्रवृत्तिका तत्वहरुले एउटा वा अर्को अराजक गतिविधि नै गण्डकीकोपनि सुरक्षा चुनौति रहेको बताए । त्यस्तै, सहकारी ठगीहुँदा जनतामा आक्रोस पैदा भएको तथा मिटरव्याजी पीडितमा देखिएको आक्रोस अझैपनि रहेकाले यीपनि सुरक्षा चुनौतिका रुपमा रहेको गोष्ठीले निश्कर्ष निकाले उनले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







