ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार चोखाललाई


     एभरेस्ट आवाज    
     फागुन १९ गते २०८० मा प्रकाशित




गण्डकी । नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०८०’बाट बागलुङको सामुदायिक रेडियो गलकोट एफएमका सम्पादक एवं गलकोटपत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखाल सम्मानित भएका छन्।

बागलुङमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले रु १० हजार राशिको सो पुरस्कार पत्रकार चोखाललाई समर्पण गरेका हुन्।

विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादक÷प्रकाशक ओमकार गौचनका नाममा स्थापित सो पुरस्कार दोस्रोपटक पत्रकार चोखाललाई प्रदान गरिएको हो ।

यसअघि उक्त पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक सम्मानित भैसकेका छन् । ग्रामीण भेगबाट पत्रकारिताको विकास र उत्थानमा योगदान गरेबापत पत्रकार चोखाललाई पुरस्कृत गरिएको प्रालिका सचिव मुकेशचन्द्र राजभण्डारीले बताए ।

पत्रकार चोखालले विसं २०५६ मा महिमा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका थिए । २४ वर्षदेखि अनवरतरुपमा पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप चोखाललाई सम्मानित गरिएको ‘नयाँ विश्व’का सम्पादक रहेका राजभण्डारीले बताए।

सोही समारोहमा बागलुङको ताराखोला गाउँपालिका–१ स्थित जनप्रेम माध्यमिक विद्यालयका प्रधानाध्यापक नइन्द्रबहाुदर गुरुङलाई ‘नयाँ विश्व सम्मान’ प्रदान गरिएको थियो ।

विसं २०६० देखि सो विद्यालयको प्रधानाध्यापक पदमा रही विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक विकासमा कुशल नेतृत्व प्रदान गरेको भन्दै गुरुङलाई सम्मान गरिएको नागरिक सञ्चार प्रालिका अध्यक्ष माधव शर्माले बताए । वार्षिकोत्सवका अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी, विज्ञापनदाता लगायतलाई सम्मान गरिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।