संघीयता विरोधीलाई शब्दले होईन कामले जवाफ दिऔं: कार्की


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०८० मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले संघीयता विरोधीलाई कामले जवाफ दिनुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा आज विशेष समयमा बोल्दै एमाले नेतासमेत रहेका प्रदेश सभा सदस्य कार्कीले प्रदेश सरकारको कार्यशैलीका कारण संघीयतामाथि प्रश्न चिह्न उठेको बताएका हुन् । धेरै भ्रम, अफवाह, र असफलताको दोषारोपण संघीयतामाथि आएको छ,उनले भने,‘त्यसैले संघीयता विरोधीहरुलाई शब्दले होईन, कामले जवाफ दिऔं ।’

प्रदेश सांसद कार्कीले संघीयतालाई बलियो बनाउन दल र नेताहरुको सोंच, चिन्तन र शैली बदल्नुपर्ने बताए । लामो समयदेखि एकात्मक सोंच, चिन्तन र शैलीको अभ्यास गर्दै आएका कारण अहिलेपनि दल र नेताहरुमा त्यो सवार हुने गरेको उनको टिप्पणी छ । दल र नेताहरु संघीयता कार्यान्वयनमा ईमान्दारिता भईदिने हो भने सहज हुनसक्छ,उनले भने,‘तर दल र तिनका नेताहरुमा संघीयता कार्यान्वयनमा ईमान्दारिता छैन । दलका संरचना एकात्मक खालका छन् । सोंचमा संघीयता आएको छैन ।’ संघीयता कार्यान्वयन दल र त्सका नेताहरुले गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाई छ । ‘हामीमा संघीयतामैत्री सोंच, शैली र चिन्तन आएन । ठाउँ पाउनासाथ एकाएक सामन्तवाद सवार हुन्छ’–उनले भने ।

कार्कीले संघीयतामाथि प्रश्न चिह्न उठ्नुको कारण प्रदेश सरकारको कार्यशैलीपनि जिम्मेवार भएको बताए । सरकारको काम उल्टो दिशातर्फ दौडिरहेको उनको टिप्पणी छ । उनले भने,‘सुशासन कमजोर छ । विकास निर्माण ठप्पजस्तै छ । अनियमितता र भ्रष्टाचार मौलाएको छ । समाज अराजकतातर्फ झाँगिएको छ । जवाफदेही छैन । यसको शिकार संघीयता बनेको छ ।’ उनले प्रदेश संरचनाका गतिविधि जनमैत्री छैन नभएको उनले आरोप लगाए । ‘प्रदेश सरकार जनमैत्री हुने, काममा पारदर्शिता अप्नाउने, सहकार्य र सहअस्तित्वको सम्मान गर्दै अगाडि बढ्ने, कार्यशैलीमा अनुशासन कायम गर्न सक्यौं भने, सुशासन कायम गर्दै बजेट कार्यान्वयन गर्न सक्यौं भने संघीयता बलियो हुँदै जान्छ’–उनले भने ।

कार्कीले संरचना र जनशक्ति नबदलिदापनि संघीयता कार्यान्वयन फितलो भएको बताए । ‘हामीले व्यवस्था बदलेऔं तर संरचना र जनशक्ति बदलेनौं । पुरानो प्रशासनिक संरचनाले नया व्यवस्था सञ्चालन गर्न सम्भव थिएन । तर यसको विकल्प पनि छैन र सम्भवपनि देखिदैन ।’ उनले न्याय, सुरक्षा र संवैधानिक निकायमा अहिलेसम्मपनि संघीयता नआएको बताए । संघीयता बलियो बनाउन वित्तीय संघीयता कार्यान्वन प्रभावकारी बनाउनुपर्ने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।