स्वतन्त्र हैसियत दिन माग गर्दै मनाङ्गेले दिए निवेदन


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०८० मा प्रकाशित




पोखरा । नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ मनाङेले दल त्यागेको जानकारी गराएका छन् । स्वतन्त्रबाट जितेर नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका गण्डकी सांसद मनाङेले दल त्यागेको जानकारी सहित आफूलाई स्वतन्त्र हैसियत दिन माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दिएका हुन् ।

आफूले स्वतन्त्रबाट जितेर आएकाले सोही हैसियत दिलाइदिन माग गर्दै निवेदन परेको प्रदेश सभाका सचिव हरिराज पोख्रेलले जानकारी दिए ।

मनाङेलाई उधृत गर्दै सचिवालयले भनेको छ ’बिना कारण र अनयासै केन्द्रमा फेरिईरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भएकाले गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन यस्तो निर्णय गरेको हुँ ।’ मनाङेले केन्द्रकै गठबन्धन गण्डकीमा कायम रहंदा पनि एमाले माओवादी गठबन्धनलाई बहुमत पुर्याउन सहज अवस्था नभएको बताएका छन् ।

त्यसैले प्रदेश सभा विघटन हुने र मद्यावधिमा जान सक्ने खतरालाई रोक्न आफूले यस्तो कदम चालेको बताए । ‘मद्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको विदितै छ।’

मनाङेले आफू कांग्रेस नेतृत्वको सरकारको पक्षमा उभिने संकेत गरेका छन् । तर यसो गर्दा पनि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाईहाल्ने देखिदैन । ६० सदस्यिय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमाले २२, माओवादी ८, राप्रपा २ र मनाङ्गे सांसद छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।