विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०८० मा प्रकाशित




चैत १५ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै उनले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने बताए ।

“चालु आर्थिक वर्षको यस अवधिमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्न सफल भएका छौँ, सुशासनको क्षेत्रमा पनि नयाँ पहल अघि बढाइएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “तर, विकास निर्माणको क्षेत्रमा भने अपेक्षाअनुसार धेरै काम गर्नुपर्ने तथ्य आजको प्रगति विवरणले देखाएको छ ।”

राष्ट्रिय योजना आयोगले १६औँ योजना तर्जुमाको कार्य अन्तिम चरणमा पु¥याएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौतीलाई समाधन गरी ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को लक्ष्य अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले बदलिँदो परिवेशमा गत हप्ता घोषणा गरिएको सरकारका नीतिगत प्राथमिकता र साझा सङ्कल्प आवधिक योजनाले समावेश गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले आगामी आवदेखि कार्यान्वयनमा आउने १६औँ योजनालाई कार्यान्वयनयोग्य तथा रूपान्तरणकारी बनाउन निर्देशन दिए । समितिको ५२औँ बैठकमा आव २०८०÷८१ को पहिलो ६ महिनामा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा प्रदेश सरकारबाट भए गरेका कामकारबाहीको समीक्षा प्रस्तुत गरिएको छ । उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, मुख्यमन्त्रीहरूलगायत उपस्थित विभिन्न व्यक्तिले आफ्ना भनाइ, राय प्रतिक्रिया राखेका थिए ।

सो बैठकमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछाने, उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, सचिवहरुलगायतको उपस्थिति थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।