अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली


     एभरेस्ट आवाज    
     चैत्र १५ गते २०८० मा प्रकाशित




चैत १५ झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् ।

उनले सरकारमा सामेल दलहरु मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए । नेकपा (एमाले) झापाको ११ औं जिल्ला अधिवेशनको आज विर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए ।

समिकरणमा सामेल दलहरुले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उनले स्मरण गराए । उनले यसअघि नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे ।

उनले एमाले र कांग्रेसबीच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उनले भने, “चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुबै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।”

उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए । विसं २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको स्पष्ट पारे । कांग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उनले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।