पोखरा, चैत १८
अटीजम भएका बालबालिकाहरुलाई विशिष्ट तथा समावेशी शिक्षा दिनुपर्नेमा जोड दिइएको छ । अटीजम केयर सोसाइटी गण्डकीको आयोजनामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले अटीजम भएका बालबालिकाहरुलाई सामाजिकीकरण गर्नका लागि विशिष्ट र समावेशी शिक्षाको आवश्यक्तामा जोड दिएका हुन् ।
कार्यक्रममा प्रस्तुतीकरण दिदै अटीजम केयर सोसाइटी गण्डकीका अध्यक्ष मुकुन्द लम्सालले अटीजम भएका बालबालिकाहरुलाई छुट्टै शिक्षा दिदा उनीहरु सामाजिकीकरणपनि नहुने र बौद्धिक स्तरपनि कमजोर हुने बताए । ‘त्यसैले उनीहरुका लागि विशिष्ट र समावेशी शिक्षा आवश्यक छ’–उनले भने । तर नेपालमा यसको अभ्यास न्यून मात्र हुने गरेको उनले बताए । नेपालमा अटीजम भएका बालबालिकालाई सकभर छुट्टै शिक्षा दिने, त्यसो नभए एउटै विद्यालय भएपनि छुट्टै अध्ययनको व्यवस्था हुँदै आएको उनको भनाई छ । यसले उनीहरुको सर्वाङ्गिण विकास हुन नसक्नुका साथै प्रतिष्पर्धी भावनामा ह्रास आएको उनले बताए । उनले अटीजम भएकाहरुलाई अन्य विद्यार्थीसँगै राखेर पढाउँदै समावेशी शिक्षा नहुने उल्लेख गरे ।
डाक्टर नवराज सुवेदीले अभिभावकले आफ्ना बालबालिकालाई अटीजम भएको नस्वीकार्ने गरेको बताए । जसका कारण ढिलो गरेर अटीजम भएको थाहा हुन्छ,उनले भने,‘त्यतिञ्जेलसम्म अटीजममैत्री वातावरण निर्माण गर्न ढिलाई भइसकेको हुन्छ । त्यसैले सहज स्वीकार्यताका लागि अभिभावकमाझ क्याम्पेनिङ गर्न आवश्यक छ ।’
राष्ट्रिय अपाङ्गता महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्माले अटीजम भएका बालबालिकाको जीवनयापन, शिक्ष, दीक्षाका लागि वातावरण बनाउने जिम्मेवारी र दायित्व सबैको भएको बताए । ‘हाम्रो महासंघपनि यसप्रति सचेत छ । सरकारसहित सबै निकायकोपनि गम्भीर ध्यानाकर्षण होस्’–उनले भने ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक गण्डकीका प्रमुख शिवप्रसाद खकुरेलले अटीजम भएका बालबालिका शिक्षाबाट विमुख हुने गरेको बताए । ‘सरकारले नै त्यस्ता बालबालिकालाई शिक्षामा समावेश गर्न सकेकेको छैन,समावेशी शिक्षा त झन् टाढाको कुरा’–उनले भने । तर आवाज बुलन्द गर्न भने छाड्न नहुने बताए ।
मन्टेश्वरी एशोसियसन कास्कीकी अध्यक्ष भवानी अधिकारी बरालले अभिभावकले आफ्ना बालबच्चालाई अटीजम भएको स्वीकारेर सोहि अनुसारको वातावरण दिनुपर्ने बताईन् । उनले भनिन्,‘अभिभावकले नै नस्वीकार्दा उनीहरुलाई आवश्यक्ता अनुसार ट्रिट गर्न सकिदैन । अभिभावकले स्वीकार गरेर वातावरण सहज बनाउन सकिन्छ ।’
बुद्ध मन्टेश्वरीकी सञ्चालिका अप्सरा अधिकारीले अटीजम भएका बालबालिका अध्यापन गर्ने विद्यालयका शिक्षकहरुलाई नियमित तालिमको अभावहुँदा उचित शिक्षा नपाइरहेको अवस्था रहेको उल्लेख गरिन् । ‘एक त दक्ष शिक्षक पाउनै मुश्किल । पाएकालाई पनि नियमित तालिम, अभिमुखीकरण नहुँदा पछिल्लो तौरतरिका र प्रविधिको प्रयोगमा कठिनाई छ’–उनले भनिन् ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले अटीजम भएका बालबालिकाका बारेमा आफूहरु अनभिज्ञ भएको बताए । योबारे धेरै थाहै थिएन,उनले भने,‘यसका लागि बजेट नै थिएन सायद ! तर अब सकेको सक्दो सहयोग गर्छौं, बजेटपनि छुट्याउँछौं ।’
विश्वमा हरेक ३६ जनामध्ये १ जनामा अटीजम भएका बालबालिका जन्मिने गरेका छन् । त्यसमध्ये हरेक चारमा तीन जना बालक र एक जना बालिकामा अटीजम हुने गरेको तथ्याङ्क रहेको अटीजम केयर गण्डकीका अध्यक्ष मुकुन्द उपाध्यायले जानकारी दिए । उनका अनुसार सन् २००० पछि अटीजम भएका बालबालिका जन्मिने संख्या २४१ प्रतिशतले बृद्धि भएको छ । नेपालमापनि अटीजमको व्यापकता छ,उनले भने,‘त्यसैले अभिभावकमा सहज स्वीकार्यता, बैलैमा पहिचान र शिघ्र हस्तक्षेप, समावेशी शिक्षाको प्रबन्ध गरेर उनीहरुलाईपनि मूलप्रवाहीकरणमा ल्याउनुपर्छ ।’ उनले अटीजम रोग नभई मस्तिष्कमा फरक खालको विकास मात्र भएकाले वातावरण निर्माण गर्न सके उनीहरुले अन्य बालबालिकाले जत्तिकै विकास गर्न सक्ने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







