विपक्षीलाई सरकार बनाउन गण्डकीमा बहालवाला मन्त्रीकै समर्थन


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०८० मा प्रकाशित




पोखरा, चैत २५

गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ उर्फ दीपक मनाङेलाई पिपलपाते चरित्र भएको भनेर आरोप लाग्दै आएको छ । अर्थात उनी सत्ताका लागि जतापनि पल्टिन्छन् भन्ने आरोप छ । यसअघि चारपटक मन्त्री भइसकेका मनाङे सत्ताका लागि जुनसुकै बेला ढलपल हुने पात्रका रुपमा चित्रित गरिन्छ । नभन्दै उनले यसपटकपनि सत्तामा रहेरै विपक्षीलाई समर्थन गरेर पिपलपाते चरित्रलाई पुष्टि गरेका छन् ।

सरकारमै रहेर विपक्षीलाई सरकार बनाउन उनले सहयोग गरेको यो पहिलो पटक होईन । यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमै रहेका बेलापनि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन उनले हस्ताक्षर गरेका थिए ।

गुण्डा नाईकेको छवी बनाएका मनाङे सत्तामा जान जेपनि गर्छन् । चुनाव जित्न स्वतन्त्र बनेर चुनाव उनी जितेपछि भने मन्त्री बन्नका लागि पार्टी प्रवेश गर्दै आएका छन् । अघिल्लो सदनमापनि चुनाव जितेपछि नेकपा प्रवेश गरेर मनाङे मन्त्री बनेका थिए । त्यसपछि सत्ताको जोडघटाउमा निर्णायक बन्दै पटक÷पटक मन्त्री पड्काएका मनाङे यसपटकपनि सत्ता पक्षलाई चक्मा दिदै विपक्षीलाई सघाउन पुगेका हुन् । यसको अन्तर्य उनी फेरीपनि सत्ताका लागि जुनसुकै हदसम्म गिर्न तयार देखिएका छन् ।

तर उनी मध्यावधी रोक्नका लागि आफूले समर्थन जनाएको बताउने गरेका छन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारमा सहभागि भएका थिए । त्यतिबेला उनले भनेका थिए,‘सत्ता गठबन्धनको यहाँ बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले बहुमत पु¥याउँछु भन्ने विश्वास दिलाएपछि सरकारमा सहभागि भएको हुँ ।’ तर उनको भनाई एक महिनापनि टिकेन । र उनी आफै सत्तामा बसेर विपक्षीलाई सघाउन पुगेका छन् ।

उनलाई मान्छेहरुले पिपलपाते भनेपनि उनी मन्त्री पद हत्याउन भने सफल हुँदै आएका छन् । अब बन्ने सरकारमापनि उनी मन्त्री बन्ने पक्का भइसकेको छ ।त्यसैका लागि उनी सत्तामा रहेरपनि विपक्षीलाई समर्थन गर्न पुगेका हुन् भनेर सहजै अनुमान गर्न सकिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।