पोखरा, चैत २५
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नवनियुक्त मुख्यमन्त्री अधिकारीले आईतबार नै सपथ लिएका छन् । पूर्वाह्न मुख्यमन्त्रीमा नियुक्त अधिकारीले अपराह्न ३ बजे पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
यसैबीच, मुख्यमन्त्री अधिकारीले आफूसहित ३ सदस्यीय मन्त्री मण्डल गठन गरेका छन् । उनले माओवादीका हरिबहादुर चुमान र राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । पहिलो चरणमा मन्त्री बनेका चुमान र मनाङेले मुख्यमन्त्री अधिकारीसँगै पद तथा गोपनीयताको सपथ लिएका हुन् । दुबै जना विना विभागीय मन्त्रीको रुपमा सरकारमा सहभागि छन् ।
चुमान नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । उनी यसअघि अधिकारी नेतृत्वमै बनेको सरकार र पृथ्वी सुब्बा सरकारमा आन्तरिक मामिला मन्त्री थिए । त्यस्तै, मनाङे भने पाचौं पटक मन्त्री बनेका हुन् । स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका उनी निवर्तमान सरकारमापनि सहभागि थिए ।
यसअघि अधिकारीले सत्तारुढ दलहरुको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् । उनको समर्थनमा सभामुख कृष्ण धिताल र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ उर्फ दीपक मनाङेकोपनि हस्ताक्षर छ । सभामुख धितालले सभामुखले सरकार निर्माणमा र विश्वासको मत दिन नहुने अदालतको आदेश विपरित गण्डकीमा मत दिएका छन् । यद्वपी सभामुख धितालले आफूले सरकार निर्माणमा हस्ताक्षर नगरेको दाबी गरेका छन् । उनले भने,‘सरकार निर्माणका लागि मैले हस्ताक्षर गर्न मिल्दैन । कसरी प्रयोग भयो मलाई थाहा छैन ।’
नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरको आधारमा अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकोप्रति आपत्ति जनाएको छ । सर्वोच्चको आदेश र कोशी प्रदेशको नजिर विपरित सभामुखसहितको हस्ताक्षरमा अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक हुने उसको जिकीर छ । अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै कांग्रेस सांसदहरुले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई भेटेर ध्यानाकर्षणसमेत गराएको थियो । तर त्यस विपरित अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएपछि कांग्रेस सर्वोच्च अदालत जाने तयारीमा छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले असंवैधानिक कदमकाबिरुद्ध सर्वोच्च जाने बताए । सभामुखको हस्ताक्षर गलत रुपमा प्रयोग गरिएको छ,उनले भने,‘यसमा सभामुख स्वयम्ले मेरो हस्ताक्षर होईन भनिरहनु भएको छ । यसबिरुद्ध हामी सर्वोच्च जान्छौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







