इन्डोनेसियाको भूकम्पमा परि मृत्यु हुनेको संख्या ४२ पुग्यो


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित




इन्डोनेसियाको सुलावेसी द्वीपमा आएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ४२ जना मृत्यु भएको छ ।

शुक्रबार बिहान एउटा सानो भूकम्प गएको एक घण्टापछि ६ दशमलव २ म्याग्निट्यूडको ठूलो भूकम्प आएको थियो।

उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित मानिसहरुको खोजी भइरहेको स्थानीय प्रहरीका अधिकारीले जानकारी दिएको छ।

भूकम्पका कारण सयौं मानिस घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन्।

विनाशकारी भूकम्प र सुनामीका कारण हरेक वर्ष इन्डोनेशिया प्रभावित हुने गरेको छ। सन् २०१८ मा सुलावेसीमा भूकम्पका कारण २ हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

मामुजु नगरस्थित एउटा अस्पतालका केही भाग भत्किएपछि कम्तीमा ८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उक्त पाँचतले अस्पतालबाट ६० जनालाई सुरक्षित उद्धार गरिएको थियो। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको भनाई छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा तथा टेलिफोनहरु काटिएकाले उद्धारकार्य प्रभावित भएको छ। भूकम्पको केन्द्रबिन्दु माजेने नगरबाट ६ किलोमिटर पर १० किलोमिटर तल रहेको बताइएको छ।

स्थानीय समयानुसार मध्यरातमा गएको भूकम्पका कारण मानवीय क्षति बढी भएको बताइएको छ। भूकम्पलगत्तै सुनामी आउनसक्ने भन्दै तटीय क्षेत्रका हजारौं सर्वसाधारलाई सुरक्षित स्थानतर्फ सारिएको अधिकारीहरुले जनाएका छन्।

सन् २००४ मा ९ दशमलव १ म्याग्निट्यूडको भूकम्पपछि हिन्द महासागरमा आएको सुनामीका कारण १३ देशमा २ लाख २६ मानिसको मृत्यु भएको थियो।

तीमध्ये इन्डोनेशियाको आचे प्रान्तमा मात्र १ लाख ७० हजार जनाले ज्यान गुमाएका थिए।

यसैबीच इन्डोनेसियाका राष्ट्रपति जोको विडोदोले भूकम्पबाट भएको क्षतिप्रति शोक व्यक्त गर्दै उद्धार तथा राहतमा कमि आउन नदिन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन्।
एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।