२४५ जनालाई रोजगारी दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख १२

बेरोजगार २४५ जनालाई रोजगार दिलाउँदै पोखरामा आयोजित वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न भएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित तीन दिने मेला बुधबार सम्पन्न भएको हो ।

मेलामा रोजगारीका लागि फारम भरेकामध्ये पोखरा महानगरपालिकाका व्यवसाय प्रवद्र्धन केन्द्रका १३ जना, गण्डकी बहुप्राविधिक शिक्षालयका १०५ जना, प्रधानमन्त्री रोजगार कार्यक्रमका ८० जना र आर्थिक विकास महाशाखाका ४७ जनालाई रोजगारी दिइएको जनाइएको छ । रोजगारी दिइएकामध्ये बालविकास सहजकर्ता प्रविना शाही, प्लम्वर विनय अधिकारी, जेटीजेटीए दीपेन्द्र आचार्य, ईलेक्ट्रिसियन कृष्ण थापा मगर र तथ्याङ्क संकलक रंगिला बास्तोलालाई बुधबार आयोजित मेला समापन समारोहमा नै नियुक्ती पत्र प्रदान गरिएको छ । त्यस्तै, गण्डकी बहुप्राविधिक शिक्षालयबाट रोजगारी पाएका १०५ जनामध्ये सिभिल ईञ्जिनियर समीक्षा चापागाई र अटोमोवाइलतर्फका दर्शन बराल, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगारी पाएका ८० जनामध्ये पार्वती नेपाली र आर्थिक विकास महाशाखाबाट रोजगारी पाएका ४७ जनामध्ये ः कृषि गणक सुन्दर बराल र रेणु रेग्मी तिमिल्सिनालाईपनि बुधबारै नियुक्ती पत्र प्रदान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रोजगारी पाएकाहरुलाई नियुक्ती पत्र प्रदान गरेका हुन् । कार्यक्रममा अनुपस्थित अन्य रोजगार पाएकाहरुलाई भने सम्बन्धित कार्यालयबाटै नियुक्ती पत्र प्रदान गर्ने व्यवस्था मिलाइएको मेलाका प्रचारप्रसार उपसमिति संयोजक तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।

मेलामा विभिन्न ४० क्षेत्रमा १ हजार ८ सय १० जनालाई रोजगारी दिन सकिने भन्दै उद्यमीले फारम उपलब्ध गराएका थिए । तर उत्साहजनक रुपमा रोजगार खोज्न आउनेहरु भने नआएको सचिव आचार्यले बताए । उनका अनुसार मेलामा निशुल्क सीप विकास तालिमका लागि १४६ जना, रोजगारी खोजकर्ता जम्मा २२३ जना, सीप परीक्षणका लागि ४५ ले मात्र फारम भरेका छन् । उनले भने,‘रोजगार दाता भन्दा रोजगारी खोज्नेको संख्या कम देखियो ।’

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल आमाले अहिले देशमै बसेर यहि देशलाई समृद्ध बनाऊ भनेर पुकार गरिरहेको बताए । ‘देश युवाविहीन् बन्दैछ,उनले भने,‘नेपाल आमा पुकार गरिरहेकी छिन्, ए ! छोराछोरी हो तिमीहरु देशमै बस, मलाई खनिखोस्री गर, यहि देशलाई सम्पन्न र समृद्ध बनाऊ, तिमी पलायन नहोऊ भिनरहेकी छन् ।’ उनले अनेक प्रकारका रोजगारीको सिर्जना गरेर देशलाई समृद्ध बनाउन सकिने दाबी गरे ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवसरको सम्भावनाको खोजी गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गरिएको र त्यस उद्देश्यमा मेला सफल भएको बताए । उनले अवसरको खोजी र बेरोजगारलाई रोजगारी दिलाउने मेलालाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

तीन दिनसम्म चलेको मेलाको पहिलो दिन ‘उद्यमशिलता रोजगारी र शिक्षा’, दोश्रो दिन स्टार्टअप तथा उद्यमशिलता प्रवद्र्धनमा सार्वजनिक नीजि क्षेत्रबीच सहकार्य’ र ‘आन्तरिक श्रम बजार, अवसर र चुनौति’ तथा अन्तिम दिन बुधबार ‘व्यवसाय विकास र लगानीको वातावरण’ विषयमा प्यानल डिस्कसन भएको थियो । त्यसबाहेक मेलामा ‘एम.ए. चियावाली’ नामक नाटक मञ्चन, सफल उद्यमीको कथा अन्तर्गत उद्यमी चन्द्र ढकालको कथा सुनाउनुका साथै आँट, हिम्मत र जाँगर भए नेपालमै भविष्य छ भन्नेबारेमा उत्प्रेरणात्मक प्रवचन दिइएको थियो । त्यस्तै मेलामा विभिन्न १८ वटा स्टलबाट वृत्ति परामर्श प्रदान गरिएको पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।