माछापुच्छ्रे मावि व्यवस्थापन समितिमा पुनः बमबहादुर


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८१ मा प्रकाशित




वैशाख १४ पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बमबहादुर गुरुङ चयन भएका छन् ।

विद्यालयमा आज सम्पन्न भेलाले व्यवसायी एवं समाजसेवी गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सुमन श्रेष्ठ, माधव आचार्य, सुनिता सेवा, इनबहादुर तामाङ, टेकराज आचार्य, अनिल गुरुङ, समिति सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्य र शिक्षक प्रतिनिधिमा सुशीला गुरुङ रहेका छन् । विद्यालयको संरक्षकमा वडाध्यक्ष गणेश आचार्य रहेका छन् ।

नवगठित व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयलाई जिल्लाकै नमूना बनाउने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाए । उनी यसअघि विसं २०७७ माघ १४ गते पहिलोपटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएका थिए । अध्यक्ष गुरुङकै पहलमा विद्यालयलाई भारतीय दूतावासबाट हालै बस प्राप्त भएको थियो ।

“विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकासमा थप मिहिनेत गरेर काम गर्नेछु । विद्यालयलाई सक्षम र सुविधासम्पन्न बनाउँदै नमूना विद्यालय बनाउने मेरो प्रयास हुनेछ ।” गुरुङले भने ।

वडाध्यक्ष आचार्यले नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङको दोस्रो कार्यकालमा विद्यालयले शैक्षिक क्षेत्रका थप प्रगति र उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।