एक हप्ता नपुग्दै हाकिमलाई सरुवापत्र आएपछि निसीखोला गाउँपालिका कार्यालयमा तालाबन्दी


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०८१ मा प्रकाशित




पोखरा । बागलुङको निसीखोला गाउँपालिकामा नयाँ हाकिम आएको एक हप्ता नपुग्दै सरुवा पत्र आएपछि कार्यालयमा आज तालाबन्दी गरिएको छ ।

यही वैशाख १२ गते संघिय सरकारको निर्देशन अनुसार कार्यालयमा हाजिर हुन आएका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएपछि नेकपा एमाले निसीखोला समितीले पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो ।

निसीखोला गाउँपालिकामा यस अगाडी पनि पटक पटक प्रमुख प्रशासकीय अधिकृतलाई फर्काउने काम भएको र यो पटक पनि नयाँ आएका अधिकृतलाई काम गर्न नदिने चलखेल भएकोले विरोध स्वरुप कार्यालयमा तालाबन्दी गरिएको नेकपा एमाले निसीखोला गाउँपालिका अध्यक्ष भुमिराज घर्तीमगरद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाईएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बागलुङ जिल्लाको सुदुर पश्चिममा अवस्थित यस निसीखोला गाउँपालिका सङ्घीय सम्रचना अनुसार एक स्वायत सरकारको रुपमा काम गरिरहेको स्थानीय जनताको दैनिकीसङ्ग जोडिएको घरदैलोको सरकार हो । यसका हरेक गतिविधीले स्थानीय जनताका दैनिक जनजिविकाका सवालमा काम गर्नका लागि हाम्रो पार्टी नेकपा एमाले निरन्तर खवरदारी गर्दै आइरहेकोछ । यसै सन्दर्भमा यस पालिकाभित्र हुने हरेक गतिविधीमा हाम्रो निरन्तर चिन्ता र चासो रहेको कुरा आम जनसमुदायलाई अवगत नै छ ।

स्थानीय सरकार सञ्चालनको मुख्य अख्तियारी प्राप्त व्यक्तिको रुपमा सङ्घीय सरकारबाट खटाइ पठाएका प्रमुख प्रशासकीय अधिकृतलाइ पटकपटक फिर्ता गरिनु र निमित्तको भरमा पालिका सञ्चालन गर्नु कानुनी राज्यको बर्खीलाप मात्र होइन जघन्य अपराध पनि हो । विगतमा हाम्रो पार्टी नेकपा एमालेले यस पालिकाभित्र हुने गरेका हरेक वेथितिका विरुद्दमा जनताको आवाज बुलन्द गर्दै आइरहेको सन्दर्भमा निसीखोला गाउँपालिकाका सिमित जनप्रतिनिधी र केही बहालवाला कर्मचारीको मिलिभगतमा यसभन्दा पहिले पनि २ जना प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाइ पालिकाको बदनाम गरेकोमा पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्ती लिई मिति २०८१।०१।१२ मा यस पालिकामा हाजिर हुनुभएका जीवन पुन मगरलाई एक हप्ता नवित्दै सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद प्रस्ट भएकोछ ।

हाम्रो पार्टीको तर्फबाट विगतका समयमा गराईएका ध्यानाकर्षण र खवरदारी साथै सुचनाको हकलाई समेत वेवास्ता गर्दै चालिएको यो गतल कदमको भण्डाफोर गर्दै प्रमुख प्रशासकीय अधिकृत सरुवा गरी निमित्तको भरमा पालिका चलाउने दुस्साहसका विरुद्द नेकपा एमाले निसीखोला गाउँ कमिटी कडा आन्दोलनको घोषणा गर्दै आम जनसमुदायमा सहयोगको अपिल गर्दछ ।

साथै पालिकाको गलत कदमका विरुद्ध ससक्त आन्दोलन घोषणा गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने गलत कदम सच्याउन र स्थानीय सरकार मर्यादित रुपमा सञ्चालन गर्न गराउन आजको पालिका धर्नाको कार्यक्रम आयोजना गरिएको जानकारी यस प्रेश विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।‘

यता निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले कार्यालयमा हाजिर भएको छ दिनमै हाकिम सरुवा गर्नु गलत भएको बताए । सरुवाको पत्र आए पनि यति छिट्टै प्रमुख प्रशासकीय अधिकृतलाई सरुवाका लागि रमाना नदिने अडानमा उनी छन् ।

कार्यालयको मुल गेटमै तालाबन्दी गर्दा सेवाग्राही थप मर्कामा परेको उपाध्यक्ष प्रेम घर्तीमगरले बताए । ‘आज विहानै एक जना क्यान्सर पिडितको सिफारिस बनाउन फोन आएको थियो ,कार्यालयको मुल गेटमै तालाबन्दी गरिएको छ’, उनले भने, ’यसले सेवाग्राहीलाई थप मर्का परेको छ ।’

प्रमुख प्रशासकीय अधिकृत पुनमगरले हाजिर हुँदाको दिनै आफूलाई हाजिर नहुनु भनेर मन्त्रीको सचिवालयबाट फोन आएको भन्दै पालिकाले हाजिर गराएपछि काम गर्न सुरु गरेको बताए । दुरदराजका स्थानमा सेवा गर्ने उद्धेश्यले सरकारी सेवा मार्फत जनतासँग नजिक भएर काम गर्नका लागि आफूले स्थानीय तह रोजेको तर यो खालको गतिविधिले आफुलाई दुख लागेको गुनासो गरे ।

आफूलाई एक साता नबित्दै सरुवा गर्नेमा कर्मचारीकै भूमिका रहेको आशंका रहेको उनले बताए । ‘म कार्यालयमा हाजिर हुने समयमै निमित्तप्रमुख र केहि कर्मचारी बेपत्ता हुनुभएको थियो, त्यसको केहि दिनमै सरुवा पत्र आयो, उनले भने, ‘तर मन्त्रालयले सरुवा गरे पनि गाउँपालिकाले रमाना नदिएसम्म सरुवा हुदैन,स्थानिय सरकारको यसमा अधिकार छ ।‘

‘जनतासँग नजिक भएर काम गर्छु भनेर आएको थिए, मलाई चाहि निकै नराम्रो लागेको छ, यहाँ षड्यन्त्र भएको छ, हामीलाई उच्च पदाधिकारीबाट दुई वर्ष सरुवा गर्न पाइँदैन भन्ने तालिम दिएको थियो, कर्मचारीतन्त्रको यो विकृति प्रति म निकै दुःखी भएको छु, असल राष्ट्रसकेव भएको हुँदा आज जुन निर्णय भएको छ, यसमा मेरो आपत्ति छ’ पुनले भने , ‘मन्त्रालयबाट हाजिर हुँदाको दिनै मलाई हाजिर नहुनु भनेर मन्त्रीको सचिवालयबाट फोन आएको थियो, यसमा धेरै चलखेल छ, कर्मचारी वृत्तबाटै मलाई सरुवा गर्न दबाद दिएको मलाई शंका लागेको छ ।’

यो विषयमा पालिकाका सम्बन्धित पक्षले लिखित रुपमा ठोस छलफल र सम्झौता नगरेसम्म ताला नखोलिने समितीका जिल्ला सदस्य मिलन हमालले बताए । उनले निश्चित कार्मचारी र प्रतिनिधिको पटक पटकको यो गतिविधिले सिंगो पालिकाकै प्रशासनिक र विकासका कार्यहरु प्रभावित भैरहेको बताए । अहिले निसीखोला अध्यक्ष र उपाध्यक्ष काम विषेशले बाहिर रहेको खवर प्राप्त भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।