पोखरा, बैशाख २१
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बैशाख २३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिनेगरी बैशाख २३ गते आइतबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको हो ।
यसअघि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने व्यवस्था मिलाईदिन भन्दै प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । सोहि अनुसार प्रदेश सभाको बैठकको मिति तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत लिने बाटो खुल्ला गरिदिएको थियो । मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाईसमेत गणना गरेको र सोहि आधारमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएकाले नियुक्ती खारेज गर्न माग गर्दै गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले भने गण्डकीमा सभामुख बाहेक ५९ प्रदेश सभा सदस्य रहने र त्यसमा ३० सदस्य भए बहुमत पुग्ने भन्दै रिट नै खारेज गरिदिएको हो ।
सर्वोच्चले बहुमत पुग्ने नपुग्ने विश्वासको मत लिँदा परीक्षण हुने बताएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गत चैत २५ गते अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्त भएको एक महिना अर्थात ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान छ । सो अनुसार अधिकारीले बैशाख २४ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा वर्तमान सत्ता गठबन्धनसँग एमालेका २२, नेकपा माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ उर्फ दीपक मनाङे गरेर ३१ मत छ । सर्वोच्चको फैसला अनुसार विश्वासको मतका लागि सभामुखबाहेक ३० मत नै काफी हुने भएको छ । तर माओवादीमा गणना हुँदै आएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने आशंका सत्तारुढ गठबन्धनले गर्दै आएका छन् । त्यसैले गठबन्धनलाई बलियो बनाउन सत्ता गठबन्धनले राप्रपाको समर्थन खोजिरहेको छ । राप्रपापनि गठबन्धनमा मिसिए सत्ता गठबन्धनमा ३२ सांसद हुन्छन् । विपक्षी नेपाली कांग्रेसका २७ सांसद छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







