पोखरा, जेठ ७
पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखामा सार्वजनिक लेखा समितिले अनुगमन तथा निरीक्षण गरेको छ । सामाजिक विकास महाशाखाले गर्ने सेवा प्रभावकारी नभएको भन्ने सेवाग्राहीको गुनासो आएपछि पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले सोमबार अनुगमन तथा निरीक्षण गरेको हो । निरीक्षणका लागि लेखा समितिका पदाधिकारी तथा सदस्यहरु कार्यालय शुरु हुने समय विहान १० बजे नै सामाजिक विकास महाशाखामा पुगेका थिए । तर केहि कर्मचारीहरु भने कार्यालय समय शुरु भएको १०/१५ मिनेट ढिला गरेर पुगेका थिए ।

अनुगमनका क्रममा कर्मचारीहरु कार्यालय समय शुरु हुनुभन्दा केहि ढिला गरेर कार्यालय पुगेको पाइएको पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका संयोजक झपटबहादुर रानाभाटले जानकारी दिए । उनले भने,‘सेवाग्राहीहरुले गुनासो गरेजस्तै कर्मचारीहरु ढिलो आएको पाईयो ।’ उनका अनुसार महाशाखा प्रमुख निर्मला शर्मा भने समयमै कार्यालयमा पुगेकी थिईन् ।
समितिले अनुगमनका क्रममा बजेट खर्चबारेपनि चासो राखेको थियो । सो क्रममा महाशाखाको कुल बजेटको ५२ प्रतिशतमात्रै खर्च भएको पाइएको संयोजक रानाभाटले जानकारी दिए । लक्ष्य भन्दा निकै कममात्रै बजेट खर्च भएको पाइयो,उनले भने,‘हामीले लक्ष्य भेट्टाउने गरी खर्च बढाउन, रातो कितावमा भएका योजना कार्यान्वयनसँगै आर्थिक पारदर्शिता अप्नाउन निर्देशन दियौं ।’ सामाजिक विकास महाशाखाबाट सेवा प्रवाह हुने लक्षित वर्ग महिला, बालबालिका, सडक बालबालिका, घरेलु हिंसामा परेका, ज्येष्ठ नागरिक, स्वास्थ्य स्वयम्सेविकालाई दिइने सेवा, सुविधालगायतलाई प्रभावकारी बनाउन निर्देशन दिइएको उनको भनाई छ । उनका अनुसार सेवा प्रवाह प्रभावकारी भएनभएकोबारे पछिपनि थप अनुगमन र निरीक्षण समितिले जारी राख्नेछ ।
छड्के अनुगमन तथा निरीक्षणमा समितिका सदस्यहरु बलराम पौडेल, रामजी पौडेल, विष्णुमणी बराललगायतपनि सहभागी थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







