मुटु परीक्षण शिविरबाट निसीखोला,तमानखोला र ढोरपाटनका स्थिानिय लाभान्वित


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०८१ मा प्रकाशित




ढोरपाटन । बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् ।

गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन तथा सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् ।

शनिबार साँझ सम्पन्न भएको शिविरबाट सबैभन्दा बढी दुर्गम गाउँका नागरिक लाभान्वित भएका छन् । शिविरमा उपचार र अन्य सेवा लिने अधिकांश ज्येष्ठ नागरिक थिए । लामो समयदेखि मुटुको उपचार गराउँदै आएका बिरामीको विशेषज्ञ डाक्टरले परीक्षण गर्नुका साथै औषधि प्रदान गरेका थिए ।

शिविरमा परीक्षण गराएकामध्ये १० जना मुटुका नयाँ बिरामीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचारका लागि ‘रेफर’ गरिएको थियो । सातजना विशेषज्ञ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेको हो । सामान्य समस्या रहेका बिरामीलाई औषधि उपलब्ध गराइएको थियो भने जटिल समस्या भएकालाई उपचारका लागि सुविधासम्पन्न अस्पतालमा जान सुझाएको हृदय रोग केन्द्रका निर्देशक डा रवि मल्लले बताए ।

मुटुसम्बन्धी रोगका बिरामी बढ्न थालेपछि गाउँमा शिविर सञ्चालन गरेको शिविर संयोजक शेरचनले बताए । भविष्यमा पनि यस्ता शिविर सञ्चालनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता उनले व्यक्त गरे ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।