छात्रातर्फ सिद्ध र अमरसिंह मावि फाइनलमा


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०८१ मा प्रकाशित




जेठ १५ पोखरा । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा जारी कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत छात्रातर्फ सिद्ध मावि र अमरसिंह मावि फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा मंगलबार भएको खेलमा सिद्धले त्रिभुवन शान्तिलाई तथा अमरसिंहले बाराही माविलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित बनाएका हुन् ।

प्रतियोगिताको पहिलो सेमिफाइलनमा अम्मरसिंहले बाराहीलाई ९ विकेटले पराजित गरेको थियो । पहिला व्याटिङ गरेको बाराहीले १२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन बनाएको थियो । प्रत्युत्तरमा अम्मरसिंहले ९.३ ओभरमा १ विकेटको क्षतिमा जित निकाल्यो । खेलमा ३ विकेट लिएकी अम्मरसिंहका चन्द्रमाया प्लेयर अफ द म्याच भइन् ।

दोस्रो सेमिफाइनल खेलमा सिद्धले त्रिभुवन शान्तिमाथि ५१ रनको फराकिलो जित निकालेको थियो । टस जितेर ब्याटिङ रोजेको सिद्धले १५ ओभर खेल्दै २ विकेटको क्षतिमा १०० रन बनाएको थियो । त्रिभुवनको पारी १०.३ ओभरमा ४९ रनमै समेटियो । खेलमा सिद्धकी रचना चौधरीले ५ विकेट लिँदै प्लेयर अफ द म्याच बन्न सफल भइन् ।

बुधबार छात्रतर्फ जनप्रिय र नवप्रभात बिच पहिलो सेमीफाइनल तथा कालिका र त्रिभुवन शान्ति मावि बिच दोस्रो सेमिफाइनल खेल हुने आयोजक समितिका अध्यक्ष बविन कुँवरले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।