पुरानै योजना र कार्यक्रमलाई निरन्तरता दिदै ल्यायो गण्डकीले नीति तथा कार्यक्रम


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८१ मा प्रकाशित




पोखरा, जेठ २९

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै योजना र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको हो ।

गण्डकीको नीति तथा कार्यक्रममा पूर्वाधारतर्फ प्रदेश गौरव, प्रादेशिक लोकमार्ग, स्थानिय तहको केन्द्र जोड्ने, एक निर्वाचन क्षेत्र ः एक सडक कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै सो सडक अन्तर्गत पर्ने क्षेत्रमा सडक पुल निर्माणका लागि प्राथमिकता दिईनेपनि जनाइएको छ । यसैगरी, पोखरामा सुविधा सम्पन्न बहुतले पार्किङ भवन निर्माणका लागि प्रोत्साहन गरिने भनिएको छ । एक घर एक धारा कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ । साथै विगतदेखि नै निरन्तर रहँदै आएको उज्यालो गण्डकी प्रदेश अभियानलाई यस वर्ष सम्पन्न गरिने उल्लेख छ ।

प्रदेशले उत्तरगंगा र बुढी गण्डकी जलासय परियोजना निर्माण गर्न पहल गर्ने जनाएको छ । जुन कार्यक्रम अघिल्लो वर्षपनि परेको थियो तर त्यसको पहल वा थालनी भने भएको छैन । गण्डकीले ईन्भेष्ट गण्डकी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जुन कार्यक्रम नीजि एवम् सार्वजनिक–नीजि साझेदारीमा कार्यान्वयन गरिने उल्लेख छ । जसका लागि परियोजनाको विकास, लगानी प्रवद्र्धन र सहजीकरण गरिने भनिएको छ ।

गण्डकी प्रदेशले गिग अर्थतन्त्रको सम्भावनालाई आत्मसाथ गर्दै यसका संवाहकका रुपमा रहेका राईड सेयरिङ, कम्युटर प्रोग्रामिङ, सफ्टवेयर निर्माणलगायतका सेवालाई बैधानिकता दिने जनाएको छ ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाईपनि उत्तिकै प्राथमिकता दिइएको छ । कृषकलाई कृषि उत्पादनमा प्रोत्साहन गर्न वीमा प्रिमियममा सहुलियत र कृषि कर्जामा व्याज अनुदान कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ । प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । त्यस्तै, बाँझो जग्गालाई उपयोगमा ल्याई उत्पादन बृद्धि गर्न हावापानी, भौगोलिक उपयुक्तता र सम्भाव्यताका आधारमा खाद्यान्न, फलफूल, मसला, घाँसबाली, गाँजालगायतका उत्पादन कार्यलाई प्रोत्साहन गरिनेपनि उल्लेख छ ।

गण्डकी प्रदेशले गाँजा खेतीको आवश्यक कानूनी व्यवस्था गर्ने जनाएको छ । तर औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि यस्तो व्यवस्था गर्न लागिएको उल्लेख छ । सरकारले माटो परीक्षण तथा मलको गुणस्तर नियमन सम्बन्धी कार्यक्रमलाई थप सघन बनाउन ‘मोवाइल माटो अस्पताल’ सञ्चालन गर्नेपनि जनाएको छ । यसैगरी एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको सम्भाव्यता अध्ययन गरी सामुहिक एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गरिनेपनि जनाइएको छ ।

गण्डकी प्रदेशले अर्गानिक गाउँ निर्माण गर्ने जनाएको छ । जसका लागि नमूना गाउँ छनौट गरिने र तीमध्ये उपयुक्त स्थानलाई अर्गानिक गाउँ घोषणा गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय बजारसँगको आबद्धता स्थापित गरिने उल्लेख छ । सरकारले बाँदरबाट हुने क्षेत्री न्यूनिकरणका लागि ‘कृषि हेरालो’को व्यवस्था गर्ने भएको छ । बाँदरको अतिक्रमबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानिय तह र प्रदेश सरकारको साझेदारीमा कृषि हेरालो कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै एक सामुदायिक वन ः एक पोखरी कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले पोखराको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रलाई प्राणी उद्यान र वन्यजन्तु उद्धार केन्द्रको रुपमा स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिईने जनाएको छ । भने ढोरपाटन शिकार आरक्षमा वन्यजन्तु उद्धार तथा प्रदर्शन केन्द्रका रुपमा स्थापनाका लागि पहल गर्ने उल्लेख छ ।

प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागू गर्ने जनाएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोहि अनुरुप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । उसले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्नेपनि जनाएको छ । जसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधिकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवद्र्धन, पर्यटकको सेवा र सुविधा विकास र बिस्तार गरिने भनिएको छ । साथै सो कार्यका लागि प्रचारप्रसारमा जोड दिईने जनाइएको छ ।

प्रदेश सरकारले फेवाताल वरीपरीको पदमार्गलाई प्रवद्र्धनका लागि ‘राउण्ड फेवा, भ्यू फेवा’ कार्यक्रमलाई निरन्तरता दिएको छ । भने फेवाताल सिरानको चंखपुरदेखि मग्रेबगरसम्म पर्यटकीय आकर्षणका रुपमा ट्रस ब्रिज निर्माणका लागि पहल गर्ने जनाएको छ ।
प्रदेश सरकारले ‘उद्यमी बनौं ः स्वदेशमा केहि गरौं’ भन्ने अभियानमार्फत युवा जनशक्तिलाई सीपमूलक तालिम, उद्यमशीलता विकास तथा प्रविधिसहितको स्वरोजगार हुने र स्थानिय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालनका लागि प्रोत्साहन गर्ने नीति लिएको छ ।

प्रदेशले सबै नीतिमा स्वास्थ्य तथा एक स्वास्थ्य नीति अवधारण कार्यान्वयन गर्ने, गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश बनाउने अभियानलाई निरन्तरता दिएको छ । स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्न ‘भान्छा सुधार ः आरोग्यताको आधार’ भन्ने नारासहित भान्छा सुधार कार्यक्रम र योग र ध्यानको प्रवद्र्धन गरिने जनाइएको छ भने ‘स्वस्थ जीवन हाम्रो अभियान’मार्फत गण्डकी जागरण अभियान सञ्चालन गरिने उल्लेख छ ।

प्रदेश सरकारले शिक्षातर्फ सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जसका लागि सामुदायिक क्याम्पसलाई क्षमता र कार्य सम्पादनको आधारमा अनुदान दिईने भनिएको छ । सरकारले सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रदेश सरकारले भगत सर्वजित दलित युवा उद्यमी कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छ । जस अन्तर्गत प्रत्येक वडाबाट एक जना दलित युवा उद्यमीलाई कर्जामा व्याज अनुदान दिईने उल्लेख छ । उत्पादनसँग युवा अभियान कार्यक्रमका लागि बिउपुँजी उपलब्ध गराउने जनाइएको छ । प्रदेश सरकारले ‘डिजिटल गण्डकी ः बढाउनु छ रोजगारी र समुन्नती’ नारालाई मूर्त रुप दिन युवा तथा विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन प्रविधिमैत्री सिकाई कार्यक्रम र फ्राइडे फर फ्यूचर कार्यक्रमलाई निरन्तरता दिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार्न शिक्षकमाझ सिकाउनका लागि पढौं अभियान सञ्चालन गरिने उल्लेख छ ।

प्रदेश सरकारले गण्डकी प्रदेशलाई खेलकुदको पर्यटन केन्द्रका रुपमा विकास गर्ने जनाएको छ । त्यस्तै, उच्च उचाई खेल तालिम केन्द्रका लागि पूर्वाधार निर्माण कार्यको शुभारम्भ गरिने, खेल्छ गण्डकी र स्कुल टु ओलम्पियनलगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।