पदमुक्त सांसद देवकोटा भन्छन, ‘कानूनी उपचार खोज्छु’


     एभरेस्ट आवाज    
     जेठ ३२ गते २०८१ मा प्रकाशित




जेठ ३२ पोखरा । फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।

यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारवाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टिकरण सोधेको माओवादीले शुक्रबार कारवाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।

पदमुक्त भएका देवकोटा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित प्रदेश सभा सदस्य हुन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का उनी प्रदेश सभामा भने नेकपा माओवादी केन्द्र संसदीय दलका सदस्यका रुपमा रहेका थिए । तर जेठ २८ गते माओवादीको ह्वीप उलंघन गर्दै कांग्रेस मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसकै प्रतिफल स्वरुप उनले मन्त्री पद उपहार पाएका छन् । मुख्यमन्त्री पाण्डेले उनलाई उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बनाएका छन् ।

यसैबीच, देवकोटाले आफूले कानूनी उपचार खोज्ने बताएका छन् । माओवादीले गरेको कारवाहीका आधारमा आफूलाई पदमुक्त गर्न नमिल्ने उनको जिकीर छ । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेपनि आफू नेसपाको भएकाले माओवादीको ह्वीप नलाग्ने उनको दलील छ । ‘मेरो पार्टी नै फरक भएकाले मलाई माओवादीको ह्वीप लाग्दैन । ह्वीप नै नलाग्ने अवस्थामा सो पार्टीले ह्वीप उलंघन गरेको भनेर कारवाही गर्नपनि मिल्दैन । त्यसैले यो निर्णयबिरुद्ध म कानूनी उपचार खोज्छु’ उनले भने ।

देवकोटाले आफूले उम्मेदवारी दर्ता गर्दा नेसपाको तर्फबाट उम्मेदवारी दर्ता गरेकाले आफूलाई माओवादीको हो भनेर कसैलेपनि भन्न नसक्ने दाबी गरे । पदमुक्त भएलगत्तै पत्रकार भेटघाट गर्दै उनले अहिलेपनि आफू पदमुक्त नभएको जिकीर गरे । उनले भने,‘यो कारवाही राजनीतिक, कानूनी र संवैधानिक सबै हिसाबले गलत छ । म जुन दलबाट बिजयी भएँ त्यहि दलमा रहेकाले कसैलेपनि कारवाही गर्न सक्दैन ।’ यसअघिचाहिं माओवादी संसदीय दलको बैठकमा सहभागि हुने र उसको निर्णय मान्दै आएकाले तपाईंलाई त्यहि आधारमा कारवाही गर्न मिल्दैन भन्ने प्रश्नमा उनले भने,‘त्यो त मन मिल्दासम्म बस्ने हो । हाम्रो राजनीतिक संस्कार नै यहि हो । नमिलेपछि छुट्टिने हो । त्यसैले मलाई नेसपाको सांसदको रुपमा नहेरेपछि सो दलको संसदीय दलको बैठकमा सहभागि हुन छाडेको हुँ ।

सांसद पदबाट पदमुक्त भएसँगै मन्त्री पदपनि गुमाएका देवकोटाले अब गैरसांसदको रुपमा मन्त्री खानेबारे स्पष्ट जवाफ दिएनन् । पार्टी नेतृत्वसँग छलफल भइनसकेकाले अहिल्यै यसै भन्न नसक्ने उनको भनाई थियो । पहिले कानूनी लडाईं लड्ने र त्यसपछि मन्त्रीबारे सोंच्ने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।