पोखराको पर्यटन पूर्वाधार निर्माणमा बजेट अनुदार देखियो : सांसद भट्टराई


     एभरेस्ट आवाज    
     जेठ ३२ गते २०८१ मा प्रकाशित




जेठ ३१ पोखरा । कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले सरकारले भर्खरै विनियोजन गरेको बजेट पोखराको पर्यटन पूर्वाधार निर्माण , अन्तराष्ट्रीय उडान र खानेपानी समस्याको सम्वन्धमा अनुदार देखिएको बताएकी छन् ।

भट्टराईले भर्खर मात्र पोखरा पर्यटकिय राजधानी घोषणा भैसकेको अवस्थामा सो विषयले बजेटमा प्राथमिकता नपाउनु दुखद भएको भन्दै पोखरामा अन्तराष्ट्रीय उडान संचालन गर्ने कुनै ठोस योजना नसमेटिनु चिन्ताको बिषय भएको उल्लेख गरिन् ।

भट्टराईले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ को वन तथा वातावरण , खानेपानी, सञ्चार तथा सूचना प्रविधि , सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा यस्तो बताएकी हुन् ।

बैठकमा भट्टराईले पर्यटकिय पूर्बाधार निर्माणमा बजेटले ध्यान नदिएको, वितरण भएको बजेट पनि असन्तुलित र असमान भएको भन्दै यसले राज्य असमानताको मानक बन्ने हो कि भन्ने आशंका बढेको उल्लेख गरिन् ।

पर्यटन क्षेत्रको विकासका लागि एकीकृत पर्यटन ऐन आबश्यक हुने र बायुसेवा निगमको सुधार र सबलिकरणका लागि ठोस धारणा सहितको बजेट निर्माणका लागि सुझाव दिइन् ।

सरकारी संचार माध्यमहरूको डिजिटल अर्काइभका लागि छुट्टयाइएको बजेट अपर्याप्त भएको उल्लेख गर्दै मोबाइलको नेट्वर्किङ लगायत साइबर, नेटवर्क र सर्भर सुरक्षाको कार्यक्रम बजेटमा समाविष्ट गरेर मात्र डिजिटल नेपालको अवधारणा अघि बढाउन सरकारलाई सुझाव दिइन् ।

पोखराको हाल संचालनमा रहेको खानेपानीको स्रोत अपर्याप्त रहेको र तत्काल बैकल्पिक स्रोतको पहिचान सहित नयाँ आयोजना शुरु गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउदै भट्टराईले जलबायु अनुकुलित आयोजनाहरूको प्रभाबकारी कार्यान्वयनमा बजेटले ध्यान दिन नसकेको जिकिर गरिन् ।

सबै जसो मन्त्रालयहरूको बजेट बजेट बिनियोजनको अबस्था हेर्दा असन्तुलित र असमान बजेटले समृद्धि र बिकासका पाइला अगाडि बढाउन बाधा पुग्ने भट्टराईको निष्कर्ष छ ।

जलाधार तथा सिमसार क्षेत्रको संरक्षण, डढेलो नियन्त्रण र बादर सहितका वन्यजन्तुको प्रभाव न्यूनीकरणकालागि ठोस योजना विना बजेट आएको छ ।

यसका निम्ति वन क्षेत्रमा फलफुल र जडिबुटीको बृक्षारोपण सहित पकेट क्षेत्र निर्माण गर्न बजेट केन्द्रित हुनुपर्ने भन्दै उनले जलवायु परिवर्तन र वातावरण प्रदुषण न्यूनीकरणका कार्यक्रममा बजेटले चासो देखाउनु पर्ने र वनपैदावारहरूको प्रयोगलाइ नितिगत रूपमा सहज बनाउनुपर्ने सुझाव दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।