पाँचवटा प्रदेशमा मनसुनको प्रभाव


     एभरेस्ट आवाज    
     असार ८ गते २०८१ मा प्रकाशित




देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ ।

अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।