आगामी साउनदेखि सिंहदरबार प्रवेशका लागि ‘इ–गेटपास’


     एभरेस्ट आवाज    
     असार १२ गते २०८१ मा प्रकाशित




असार १२ काठमाण्डौं । प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशका लागि आगामी साउनदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याइने भएको छ ।

यही असार ६ गते बसेको सचिवस्तरीय बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज गरेर साउन १ गतेदेखि ‘इ–गेटपास’ प्रणाली प्रयोगमा ल्याउने तथा गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

“साउनदेखि सिंहदरबार प्रवेशका लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पास खारेज हुनेछन्, कसले पास लिए त्यसको रेकर्ड पनि रहने भएकाले अब इ–गेटपास प्रणाली प्रयोगमा ल्याइनेछ”, उनले भने ।

विगतमा विभिन्न मन्त्रालयबाट जारी गरिएका अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि अहिले ती पास खारेज गर्न लागिएको जानकारी दिँदै प्रवक्ता भट्टराईले क्युआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने बताए ।

‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाई युजर आइडी र पासवर्ड राखेर अनलाइनबाट अनुरोध गर्ने तथा गेटपास पाउन आधारभूत विवरण भर्नुपर्ने प्रणाली बनाइएको मन्त्रालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।